डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये दुई कैदी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

उनीहरूलाई मंगलबार रुकुम पश्चिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले चेकजाँचका लागि गाडी रोक्न संकेत गरेपछि जिपमा सवार उनीहरूले भाग्ने प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए । उनीहरूसहित आठ जना कैदीबन्दी शुक्रबार राति कारागारमा सुरुङ खनेर फरार भएका थिए ।

जिल्ला सदरमुकाम दुनैस्थित कारागारबाट फरार भएका कैदीबन्दीले ४.६३ मिटर लामो सुरुङ खनेर भागेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको थियो । शनिबार बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम देखिएपछि घटना सार्वजनिक भएको थियो ।

फरार हुने अन्य कैदीबन्दीमा डोल्पाका कालिप्रसाद रोकाय र धन बुढा भन्ने हरिबहादुर बुढा, जाजरकोटका यज्ञ विक र कैलाश भन्ने कपिल परियार तथा रुकुम पश्चिमका तिलक भण्डारी र आदेश भण्डारी रहेका छन् ।

फरार रहेका अन्य कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।