फेरिचे हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु, न्युजिल्यान्डका नागरिक घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा मृत्यु भएका र घाइते भएका विदेशी नागरिकको पहिचान खुलेको छ । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमारको मृत्यु भएको छ भने न्युजिल्यान्डका नागरिक शैलेश किशन गम्भीर घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार दुर्घटनामा फिस्टेल एयरको ९एन-एजेआर र एयर डाइनेस्टीको ९एन-एओडी कलसाइन भएका हेलिकोप्टर ठोक्किएका हुन् । फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु भएका भारतीय नागरिक वसन्त कुमार र घाइते भएका न्युजिल्यान्डका नागरिक शैलेश किशन दुवै फिस्टेल एयरको हेलिकोप्टरमा सवार थिए । उक्त हेलिकोप्टरमा क्याप्टेन रवीन्द्र प्रजापतिसहित तीन जना सवार रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, एयर डाइनेस्टीको हेलिकोप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए । उक्त हेलिकोप्टरमा ३०० केजी कार्गो रहेको र लुक्ला-फेरिचे हुँदै कालापत्थर क्षेत्रको उडानमा रहेको प्राधिकरणले जनाएको छ। हेलिकोप्टरमा भने कुनै पनि यात्रु सवार थिएनन् ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका न्युजिल्यान्डका नागरिक किशनको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

प्राधिकरणले घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरेको जनाएको छ।