
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
आजको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलिसकेको विराटनगरले एक खेलमा मात्र जित हासिल गरेको छ । चौथो खेलमा मैदान उत्रन लागेको विराटनगर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
यता जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर आज विराटनगरलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ।
त्यस्तै, आज साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् । लुम्बिनीले दुई खेलमध्ये एकमा जित हासिल गरेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ।
दुई खेल खेलिसकेको पोखरा एभेन्जर्सले भने अहिलेसम्म जित निकाल्न सकेको छैन । दुवै खेलमा पराजित पोखरा आजको खेलमा पहिलो जित हासिल गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
यसअघि सोमबार भएका खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको थियो भने सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराएको थियो।