बिदामा बसे न्यायाधीश हरिप्रसाद फुयाल

दियोपोस्ट संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार उनी मंगलबारबाट तिहारसम्मका लागि बिदामा बसेका हुन् ।

बिचौलिया इनम सापकोटासँग भेटघाट गरेको कुरा बाहिरिएपछि विवादमा परेका फुयाल इजलासमा नबसी बिदामा बसेका हुन् । समाचार आएको भोलिपल्ट नै केही न्यायिक पत्रकारहरूसँगको भेटमा आफूले नै सूचना दिएर इनम पक्राउ परेको फुयालले जानकारी गराएका थिए । साथै कुनै बदनियत राखेर इनमसँग भेट नगरेको र कुनै सम्झौता नगरेको समेत उनले बताएका थिए ।

पत्रकार भेटघाटमा फुयालले इनम पहिले प्रधानमन्त्री बालेन्द्र शाहले खटाएका व्यक्ति भन्दै आफूसँग सम्पर्कमा आएको र पछि केही मुद्दाहरूमा दबाब दिन थालेपछि आफूले नै प्रधानमन्त्रीको सचिवालयमा प्रमाणसहितको जानकारी गराएको बताएका थिए । त्यस लगत्तै इनम पक्राउ परेको फुयालको दाबी थियो ।

सोही दिन नै प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग समेत इनमको हिमचिम रहेको र इनमले मनोज कुमार शर्माको नाममा अमेरिकाको बैंकमा रकम जम्मा गराउने गरी कुराकानी गरेको प्रमाण दियोपोस्टले सार्वजनिक गरेको थियो ।

यद्यपि सोही दिन नै प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफूले इनमलाई नचिन्ने र कुनै कुराकानी नभएको, कुनै लेनदेन नभएको बताउँदै प्रेस विज्ञप्ति जारी गरेका थिए । सोही दिन न्यायाधीश श्रीकान्त पौडेलले समेत आफूले इनमलाई नचिनेको र मुद्दामा कुनै कैफियत नगरिएको दाबी गरी विज्ञप्ति जारी गरेका थिए ।

सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीश उपस्थित बैठक)ले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र सत्य तथ्य छिटो सार्वजनिक गर्नसमेत सरोकारवालासँग आग्रह गर्ने, अपुष्ट समाचार प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गर्ने लगायतका विषयमा ५ बुँदे निर्णय सार्वजनिक गरेको थियो ।

फुलकोर्टमा विवादमा परेका न्यायाधीश बिदामा बस्ने कि नबस्ने भन्ने विषयमा कुनै छलफल नै भएको थिएन । यद्यपि मंगलबार प्रधानन्यायाधीश मनोजकुमार शर्माको समेत इजलास तोकिएको छैन भने न्यायाधीश हरिप्रसाद फुयाल भैपरी आउने बिदा लिएर बसेका छन् ।

इनम प्रकरणको अनुसन्धान र अभियोजन नभएसम्म इजलासमा नबस्ने तयारी गरी बिदामा बसेको बुझिएको छ ।

न्यायाधीश फुयालले यसअघि नै इनमसँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गर्न सरोकारवालासँग आग्रह गरेका थिए ।