मझिमटारमा आकाशे पुलको काम नसकिएपछि आज पनि दुई घण्टा पृथ्वी राजमार्ग बन्द

दियोपोस्ट संवाददाता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु-मुग्लिन सडकखण्ड आज (मंगलबार) पनि दुई घण्टा बन्द गरिने भएको छ । बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा निर्माणाधीन आकाशे पैदल पुलको काम सम्पन्न हुन नसकेपछि आज पुनः सवारी आवागमन बन्द गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

मझिमटारमा निर्माण भइरहेको आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने काम सोमबारदेखि सुरु गरिएको थियो । सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोकेर काम गरिएको भए पनि निर्धारित समयमा एउटा मात्र गर्डर राख्ने काम सम्पन्न भएको थियो । बाँकी दुईवटा गर्डर राख्नुपर्ने भएपछि मंगलबार पनि सडक बन्द गरेर काम गर्न लागिएको बताइएको छ ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डअन्तर्गत भइरहेको उक्त निर्माण कार्यका क्रममा पुलको संरचना सडकको माथिल्लो भागमा जडान गर्नुपर्ने भएकाले सुरक्षालाई ध्यानमा राख्दै सवारी आवागमन रोक्नुपरेको आयोजनाले बताएको छ ।

निर्माणाधीन आकाशे पुल पैदलयात्रीलाई सडक वारपार गर्न सहज हुने गरी बनाइएको हो । पुललाई अपाङ्गमैत्रीसमेत बनाउने तयारी रहेको जनाइएको छ । पुल निर्माण सम्पन्न भएपछि व्यस्त पृथ्वी राजमार्गमा पैदलयात्रीले सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

सडक बन्द रहने अवधिमा मलेखु-मुग्लिन सडकखण्ड भएर आवतजावत गर्ने निजी तथा सार्वजनिक सबै प्रकारका सवारीसाधन प्रभावित भएका छन् । प्रशासनले सवारी चालक तथा यात्रुलाई सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न, ट्राफिक नियम पालना गर्न र सडक अनुशासन कायम राख्न आग्रह गरेको छ ।

निर्माण कार्यका कारण यात्रु तथा सवारी चालकमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गरेको छ । निर्धारित समयभित्र काम सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

पृथ्वी राजमार्गको यस खण्ड हुँदै काठमाडौं, धादिङ, चितवन, पोखरा तथा देशका विभिन्न जिल्लामा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुने भएकाले सडक बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुनेछन् । त्यसैले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनु उपयुक्त हुनेछ ।