
इलाम । निर्माण सुरु भएको ११ वर्ष तीन महिना बितिसक्दा पनि सम्पन्न हुन नसकेको मेची करिडोर तथा मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सुखानी खोला पक्की पुलको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय इलामले अन्त्य गरेको छ ।
इलामको सुखानी खोलामाथि मोटरेबल आरसीसी पुल निर्माणको जिम्मा लिएको एसके-अजम्बर-शिवराम संयुक्त उपक्रम, नयाँ बानेश्वर, काठमाडौँसंगको ठेक्का सम्झौता डिभिजनले रद्द गरेको हो ।
सडक डिभिजन इलामले आज सार्वजनिक सूचना जारी गर्दै लामो समयसम्म निर्माण कार्य अलपत्र पारेको र काम सम्पन्न गर्न प्रभावकारी पहल नगरेको भन्दै सम्झौता अन्त्य गरिएको जनाएको छ । बुद्धि सुखानी-लोडिया-च्यामे सडकखण्डअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि भएको सम्झौताअनुसार निर्माण व्यवसायीले निर्धारित समयभित्र काम सम्पन्न गर्न सकेको थिएन ।
सम्झौता भएको ११ वर्ष तीन महिना बितिसक्दा पनि पुल निर्माण अधुरै रहेको र पटक-पटक लिखित पत्राचार तथा निर्देशन दिँदासमेत निर्माण कार्य पूरा गर्न ठोस पहल नभएको डिभिजनले जनाएको छ ।
डिभिजनका अनुसार यस विषयमा उच्च अदालत पाटनमा परेको रिट निवेदनमाथि २०८२ फागुन १३ गते भएको आदेशअनुसार निर्माण व्यवसायीलाई बाँकी काम सम्पन्न गर्ने अवसर प्रदान गरिएको थियो । सोही क्रममा डिभिजनले पटक-पटक पत्राचार गर्नुका साथै आवश्यक सहजीकरणसमेत गरेको थियो । तर, निर्माण व्यवसायीले बाँकी काम पूरा गर्ने स्पष्ट प्रतिबद्धता र प्रभावकारी पहल गर्नुको सट्टा म्याद थपका लागि मात्रै निवेदन दिएको डिभिजनको निष्कर्ष छ ।
निर्माण व्यवसायीले सम्झौताअनुसारको दायित्व पूरा नगरेको ठहर गर्दै ठेक्का सम्झौताका सामान्य शर्तका दफा ५८.१, ५८.२ (क), ५८.२ (ङ) र ५८.२ (च) तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) बमोजिम २०८३ कात्तिक १६ गतेको निर्णयबाट ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ ।
ठेक्का सम्झौता अन्त्य भएसँगै अब सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा (५) र दफा ६३, सार्वजनिक खरिद नियमावलीको नियम १४१ तथा ठेक्का सम्झौताका सामान्य शर्तका दफा ५८/५९.१ बमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ ।
त्यस्तै, निर्माण व्यवसायीले हालसम्म सम्पन्न गरेको र भुक्तानीयोग्य ठहरिने कामको आर्थिक हिसाबकिताब मिलान गर्न सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सडक डिभिजन कार्यालय इलाममा उपस्थित हुन आग्रह गरिएको छ । तोकिएको समयभित्र निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभए कार्यालयले नै आवश्यक प्रक्रिया अघि बढाउने सूचनामा जनाइएको छ ।
उक्त पुल निर्माणको ठेक्का नम्बर ७५(ईडीआर)१(बीसी(०६८/०६९ रहेको छ ।
वर्षौँदेखि निर्माण अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । ठेक्का सम्झौता अन्त्य भएसँगै अब पुल निर्माणको बाँकी काम कसरी र कहिलेसम्म अघि बढ्छ भन्ने चासो बढेको छ । स्थानीयवासीले नयाँ ठेक्का प्रक्रियासहित आवश्यक व्यवस्थापन शीघ्र टुङ्ग्याएर पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।