
काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानअन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका अनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ।
यो योजना २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । योजनामा सहभागी हुन ग्राहकले दराजबाट छुटसम्बन्धी भौचर संकलन गर्नुपर्नेछ । बैंकले योजनाअन्तर्गत छुट उपलब्ध गराउँदा पहिले आउने ग्राहकलाई प्राथमिकता दिइने जनाएको छ ।
विश्वव्यापी रूपमा सञ्चालन हुने ११.११ अभियानमार्फत ग्राहकलाई विशेष सुविधा प्रदान गर्नुका साथै डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरिएको बैंकले जनाएको छ।
यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीमा आकर्षित गर्न, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।