‘मुरासु’ चक्रवातको असर नेपालमा नपर्ने, तिहारसम्म मौसम रमाइलो रहने

दियोपोस्ट संवाददाता

काठमाडौँ । ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै बनेको अर्को चक्रवात ‘मुरासु’को असर नेपालमा नपर्ने मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेशतर्फ अघि बढिरहेको अति शक्तिशाली चक्रवात ‘मुरासु’का कारण नेपालमा भने उल्लेखनीय मौसमी प्रभाव पर्ने सम्भावना नरहेको हो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा.विनोद पोखरेलका अनुसार नेपालमा ‘मुरासु’ चक्रवातको प्रभाव पर्ने देखिएको छैन । उनका अनुसार तिहारसम्म नेपालको मौसम सामान्यतया रमाइलो रहने देखिन्छ।

‘मुरासु’ चक्रवातका कारण भारतको आन्ध्र प्रदेशमा भने भारी वर्षा, तीव्र हावाहुरी तथा बाढीको जोखिम हुन सक्ने अनुमान गरिएको छ।

यसअघि ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भएको थियो । त्यसको प्रभाव हटेसँगै देशका अधिकांश स्थानको मौसममा सुधार आएको छ। यद्यपि, हिजो पनि देशका केही स्थानमा हल्का वर्षा भएको थियो ।

समग्रमा भने नेपालमा अहिले मौसम अनुकूल रहेकाले तिहारसम्म पनि मौसम रमाइलो रहने देखिन्छ ।