
काठमाडौँ । फिक्सर इनम सापकोटासँग घुस प्रकरणमा आफ्नो नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेलाई चेतावनीपूर्ण धम्की दिएका छन् । एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पोखरेलले एसएसपी घिमिरेलाई आफूमाथि लागेको आरोप पुष्टि गर्न भन्दै चेतावनी दिएका हुन् ।
पोखरेलले अन्तर्वार्तामा आफूले अघिल्लो राति मात्रै काठमाडौँका एसएसपीसँग कुरा गरेको खुलासा गरेका छन् । ‘मैले हिजो राति मात्रै काठमाडौँको एसएसपीसँग कुरा गरेको छु । यो के विषय हो, तपाईँहरू निष्कर्षमा पुर्याउनुस्,’ पोखरेलले अन्तर्वार्ताको अन्त्यतिर भनेका छन् ।
उनले आफ्नो नाम जोडेर सार्वजनिक भएको विषयले रास्वपालाई समेत क्षति पुर्याएको दाबी गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई समाप्त पार्ने ढङ्गले ममाथि जुन प्रहार भएको छ, यो म व्यक्ति मात्रै माथिको प्रहार भएको छैन । मलाई प्रहार गर्न खोजेको कुराले मेरो पार्टीलाई पनि क्षति गरेको छ,’ उनले भनेका छन् ।
उक्त अन्तर्वार्ताका क्रममा पोखरेलले आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले प्रहार गरिएको र आफूले कुनै बिचौलिया, दलाल वा तस्करसँग आर्थिक लेनदेन नगरेको दाबी समेत गरेका छन् । आफ्नो विषयमा उठेका आरोपको निष्पक्ष अनुसन्धान गर्न चुनौती दिँदै उनले दोषी प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताएका छन् ।
तर, आफ्नो नाम जोडिएर सार्वजनिक भएको घुस प्रकरणलाई लिएर पोखरेलले आफूमाथि उठेका प्रश्नको जवाफ अनुसन्धानबाट खोज्नुको साटो प्रहरी नेतृत्वमाथि दबाब सिर्जना गरेको देखिन्छ ।

पोखरेलले अमेरिकामा रकम जम्मा भएको दियोपोष्टको समाचारलाई ‘मिथ्या समाचार’को संज्ञा समेत दिएका छन् । पोखरेलले आफूलाई आरोपित व्यक्तिसँग चिनजान र फोन सम्पर्कसमेत नभएको दाबी गर्दै आफू वा आफ्नो परिवारका सदस्यका खातामा रकम जम्मा भएको प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।
‘मेरो खातामा त्यसरी कतै पैसा जम्मा भएको छ भने त्यसको सजाय भोग्न म तयार छु,’ उनले भनेका छन् । उनले आफूले कुनै बिचौलियामार्फत आर्थिक लाभ नलिएको दाबी गर्दै आफ्नो नाम दुरुपयोग गरेर कसैले दलाली गरेको हुन सक्ने समेत अन्तर्वार्ताका क्रममा बताएका छन् ।

मेरो सालीको खातामा अर्बौँ छ भने खोज्नुस् :
अन्तर्वार्ताका क्रममा पोखरेलले आफ्नो मात्रै नभई परिवारका सदस्यका बैङ्क खातासमेत अनुसन्धान गर्न चुनौती दिएका छन् । आफ्नो सालीको नाममा अर्बौँ रुपैयाँ जम्मा भएको दाबी सत्य भए त्यसको समेत छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
सो अन्तर्वार्ताका क्रममा पोखरेलले आफ्नो दुई–तीन वर्षदेखिको बैङ्क कारोबार र सम्बन्धित व्यक्तिहरूको आर्थिक गतिविधि जाँच गर्न आग्रह गरेका छन् । पोखरेलले भनेका छन्, ‘कुनै व्यक्तिले मेरो नाम प्रयोग गरेर आर्थिक लाभ लिएको भए त्यसको पनि अनुसन्धान हुनुपर्छ ।’
पोखरेलले घुस प्रकरणबारे समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमलाई समेत धम्की दिएका छन् ।
उनले दियोपोष्टलाई लक्षित गर्दै रकम जम्मा भएको प्रमाण सार्वजनिक गर्नुपर्ने चेतावनी दिएका छन् । अनुसन्धानको निष्कर्ष नआउँदै आफूलाई आर्थिक लेनदेनमा संलग्न भएको जसरी प्रस्तुत गरिएको उनको आरोप छ ।
“एउटा दलालले हामीहरूको नाम बेचेर पैसा कमाइरहेको छ कि भन्ने शंका पनि लागेको छ”, उनले भनेका छन्, “हाम्रो नाम ब्राकेटमा राखेर नेपालमा भए यो खातामा, अमेरिकामा भए यो खातामा राखिदिनुहोस भनेको समाचारमा देखिन्छ । हाम्रो खातामा त्यो अर्बौं रकम जम्मा गरेको भनेको छ, त्यो कुरा मिडियाले पुष्टि गर्नुपर्यो । कसको नाममा, कहाँ जम्मा गरेको हो, त्यो पुष्टि गर्नुपर्यो । र, त्यो सत्य हो मलाई पनि कारवाहीको दायरामा लानुपर्यो नि ।”