एनपीएलका लागि कडा सुरक्षा व्यवस्था, स्टेडियमदेखि होटलसम्म प्रहरीको निगरानी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । प्रतियोगितालाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन सुरु गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन गरेको थियो ।

प्रतियोगिताका क्रममा खेलाडी, दर्शक, अतिथि तथा खेलस्थलको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रतियोगिताको सुरक्षालाई विभिन्न क्षेत्रमा विभाजन गरेको छ । खेलाडी बस्ने आठवटा होटलको सुरक्षा, होटलदेखि स्टेडियमसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन, खेल सञ्चालनका बेला मैदान तथा दर्शकको सुरक्षा योजनामा समेटिएका छन् ।

त्यस्तै, प्रतियोगिताको उद्घाटन र समापनका क्रममा आउने विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सवारी र सुरक्षालाई पनि विशेष प्राथमिकता दिइनेछ । यी सबै सुरक्षा व्यवस्थाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ । परिचालन हुने टोलीमा सादा पोशाकका प्रहरीसमेत रहनेछन् ।

सुरक्षा निगरानीका लागि सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ । स्टेडियम आसपास सीसीटीभी क्यामेरा जडान गरिएको छ भने त्यहाँको निगरानी मैदानमै खटिएका प्रहरीले गर्नेछन् । अन्य क्षेत्रका सीसीटीभी क्यामेराबाट हुने निगरानी प्रहरीको सीसीटीभी कन्ट्रोल रुममार्फत गरिनेछ ।

नेपाल प्रहरीसँगै बाह्य सुरक्षाका लागि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिने बताइएको छ ।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सोमबार साँझ ५ बजे सुरु हुने उक्त खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुनेछ । उपयुक्त शीर्षक बनाउने

सम्बन्धित खबर

सिफारिस