नेपालको दीर्घकालीन हितका लागि ‘एआईको युगमा साझा बाटो खोज्दै’ अभियान सुरु

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र दीर्घकालीन समृद्धिका लागि बृहत् राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्यसहित ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ नामक खुला राष्ट्रिय अभियान सुरु भएको छ ।

अभियानले नेपालको भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, प्रवासी नेपालीको ज्ञान, सीप तथा अनुभव र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नवीन प्रविधिलाई राष्ट्रिय प्राथमिकतासँग जोड्दै साझा राष्ट्रिय दृष्टिकोण निर्माणका लागि बहस र संवाद अघि बढाउने लक्ष्य लिएको छ ।

अभियानका संयोजक सौरभ राज पन्तले नेपालको भविष्य निर्माणका लागि राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन-जी पुस्ता र प्रवासी नेपालीलगायत सबै सरोकारवालाबीच संवाद, सहकार्य र साझा समझदारी आवश्यक रहेको बताएका छन् ।

“नेपालको भविष्यका लागि बृहत् राष्ट्रिय सहमति आवश्यक छ । हाम्रो भौगोलिक यथार्थ, बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र एआईले ल्याइरहेको परिवर्तनलाई बुझ्दै सबै पक्षलाई साझा संवादमा जोड्नुपर्छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर तथ्य, अनुभव र विविध दृष्टिकोणका आधारमा नेपालको साझा बाटो खोज्नु नै यस अभियानको मूल उद्देश्य हो,” संयोजक पन्तले भने ।

अभियानले एआई तथा नवीन प्रविधिको प्रभावकारी उपयोगमार्फत शिक्षा, रोजगारी, सुशासन, सार्वजनिक सेवा प्रवाह र समावेशी विकासलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत बहस अघि बढाउनेछ । साथै, नेपालको स्वतन्त्र निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र दीर्घकालीन हितलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकासका प्राथमिकताबारे रचनात्मक विमर्श गरिने जनाइएको छ ।

कुनै एक राजनीतिक दल, क्षेत्र वा समुदायमा सीमित नरहने अभियानले नेपालको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै तथ्यमा आधारित संवाद, फरक विचारप्रतिको सम्मान र रचनात्मक सहकार्यमार्फत साझा राष्ट्रिय समझदारी निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

अभियानले आगामी दिनमा विभिन्न क्षेत्रका सरोकारवालासँग संवाद तथा विचार आदानप्रदानका कार्यक्रम सञ्चालन गरी नेपालको दीर्घकालीन राष्ट्रिय हित, प्रविधिमैत्री विकास र साझा भविष्य निर्माणका लागि व्यावहारिक विकल्प पहिचान गर्ने जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस