तलब कम भएपछि नर्भिक अस्पतालका क्यासियरले विरामीबाट रकम चोरी गर्ने गरेको खुलाशा….

दियोपोस्ट संवाददाता

काठमाडौं । राजधानीको प्रतिष्ठित स्वास्थ्य संस्था मानिने नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा देखिएको एउटा घटनाले निजी अस्पतालहरूमा कार्यरत कर्मचारीहरूको दयनीय पारिश्रमिक, आर्थिक शोषण र त्यसले उब्जाउने गम्भीर सामाजिक तथा आपराधिक परिणामहरूलाई नाङ्गो रूपमा बाहिर ल्याएको छ ।

अस्पतालको ओपिडी विभागमा क्यासियरको रूपमा कार्यरत एक २१ वर्षीय युवाले न्यून तलब र परिवारको महँगो क्यान्सर उपचारको खर्च धान्न नसक्दा सेवाग्राहीको रकम हिनामिना गर्न बाध्य भएको पाइएको छ । यो घटना केवल एउटा व्यक्तिगत अपराध मात्र होइन, बल्कि महँगो सहरमा युवा जनशक्तिमाथि हुने श्रम शोषण र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा मौलाएको आन्तरिक लापरबाहीको ज्वलन्त उदाहरण हो ।

 

अस्पतालको ओपिडी सहायक (क्यासियर) का रूपमा कार्यरत मकवानपुर हेटौँडाका २१ वर्षीय रोहन थापाले सेवाग्राहीबाट बिलअनुसारको नगद रकम बुझेर पनि नक्कली इलेक्ट्रोनिक कारोबार खडा गरी लामो समयदेखि रकम हिनामिना गर्दै आएको दाबी गरिएको छ । रोहनलाई अस्पतालकै जाहेरीका आधारमा पक्राउ गरि थुनामा राखिएको छ ।

 

रोहनले विभिन्न मितिमा गरी १५ लाख ४४ हजार १ सय १५ रुपैयाँ किर्ते गरी नगद चोरी तथा ठगी गरेको आरोप लगाएका छन् । तर, यस घटनाको गहिराइमा पुग्दा जुन मानवीय विडम्बना र आर्थिक बाध्यताको कथा बाहिर आएको छ, त्यसले अस्पताल प्रशासनको मौन शोषण नीतिमाथि गम्भीर प्रश्न उठाएको छ।

 

 

थापाले अदालतसमक्ष बयान दिँदा आफ्नो अपराध स्वीकार गरेका छन् । नेपाल कमर्स क्याम्पस मीनभवनमा स्नातक तह (बीबीएस) चौथो वर्षमा अध्ययनरत र जर्मन भाषा समेत पढिरहेका रोहनले नर्भिक अस्पतालजस्तो नामी संस्थामा विगत दुई वर्षदेखि क्यासियरको रूपमा दैनिक ८ घण्टा (दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म) खटिएबापत मात्र २० हजार रुपैयाँ मासिक तलब बुझ्ने गरेको खुलाएका छन् । राजधानीको महँगो कोठाभाडा, कलेजको शुल्क र दैनिक जीवनयापनको खर्च २० हजार रुपैयाँले किमार्थ नपुग्ने यथार्थ उनको बयानमा छ । अझ गम्भीर विषय त के छ भने, उनका बुवा ट्राभल एजेन्सीमा सामान्य काम गर्छन् भने घरकी बृद्धा हजुरआमा सिता थापाको घुँडाको क्यान्सरको महँगो उपचार गर्दागर्दै परिवार आर्थिक रूपमा पूर्णतया टाट पल्टिसकेको थियो । बुवाको सीमित कमाइले घरको गर्जो र क्यान्सर जस्तो घातक रोगको उपचार धान्न नसकेपछि उत्पन्न चरम आर्थिक अभाव र नैराश्यताकै कारण यो बाटोमा लाग्नुपरेको उनको बयानमा उल्लेख छ ।

घटना विवरण कागजमा बयान दिने अस्पतालका सहकर्मीहरू आयुष्मा महर्जन, आशिष भैल, निकेश राज भण्डारी, सन्ध्या खड्का, सुरेन्द्र महर्जन र सुविक्षा विष्टलगायतले अस्पतालको ओपिडी काउन्टरमा हुने कारोबारको शैलीबारे बयान दिएका छन् । उनीहरूले अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले नगद, फोनपे वा इसेवामार्फत बिल तिर्ने गरेको बताउँदै रोहनले नगद कारोबार गर्ने बिरामीबाट पैसा लिई, पहिले नै इसेवा वा फोनपेमा इन्ट्री भइसकेका पुराना कोड नम्बरहरू तानेर नक्कली बिल थमाउने र सक्कल नगद आफैँले राख्ने गरेको रहस्य खोलेका छन् । सहकर्मीहरूको यो बयानले अस्पतालको आन्तरिक लेखा प्रणाली र बिलिङ काउन्टरमा कति ठूलो सुरक्षा छिद्र छ भन्ने स्पष्ट पार्छ । एउटै काउन्टरमा दैनिक लाखौँको नगद कारोबार हुने ठाउँमा कर्मचारीको डिजिटल युजर आईडीको दुरुपयोग गरी महिनाौँसम्म यति ठूलो रकम हिनामिना हुँदासमेत अस्पतालको आन्तरिक लेखा परीक्षण र व्यवस्थापनले पत्ता नलगाउनुले अस्पताल प्रशासनको सुपरिवेक्षकीय कमजोरीलाई पनि छताछुल्ल पारेको छ ।

 

रोहनले भने आफूले करिब ४ लाख रुपैयाँ मात्रै हिनामिना गरेको र सोही रकमबाट ५० हजार पर्ने आइफोन १२ प्रो मोबाइल, केही किताबहरू किनेर तथा बाँकी रकम घुमफिर र खानपिनमा सकाएको दाबी गरेका छन् । तर अस्पताल प्रशासनले भने अडिट रिपोर्टका आधारमा असारमा १ लाख ५९ हजार, साउनमा ७ लाख ८९ हजार र भदौमा ५ लाख ९४ हजार गरी कुल १५ लाख ४४ हजार १ सय १५ रुपैयाँ नै बिगो दाबी गरेको छ । कानुनले कसुर ठहर गरे पनि एउटा २१ वर्षीय युवालाई यसरी आपराधिक बाटोमा धकेल्ने मुख्य कारक भनेको निजी क्षेत्रका कर्पोरेट अस्पतालहरूले युवा जनशक्तिमाथि गर्ने न्यून पारिश्रमिकको शोषण नै हो भन्नेमा दुईमत छैन । महिनाभरि कडा श्रम गराउने तर २१औँ शताब्दीको महँगीमा २२ वर्ष पुरानो शैलीको जस्तो २० हजार रुपैयाँ मात्र तलब थमाइदिने प्रवृत्तिले आज कतिपय युवाहरूलाई कसरी आपराधिक दुर्घटनातर्फ धकेलिरहेको छ भन्ने यो घटना गतिलो पाठ हो ।
उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

सम्बन्धित खबर

सिफारिस