
सन १९६९को डिसेम्बर १० तारिखमा नर्वेका राग्नार फ्रिष्च र नेदरल्याण्डका जेन टिनवरजेन नामका दुई अर्थशास्त्रीहरु यस्तो ‘हैसियत’मा पुगे जहाँ त्यस अघि कुनै पनि अर्थशास्त्री पुगेकै थिएनन । अर्थशास्त्र अर्थात विज्ञानमा पनि अझ संभ्रान्त मानिएको विषयमा उनीहरुले त्यो उचाई हासिल गरेका थिए । उनीहरुलाई खुशी हुनलाई प्रशस्त बहाना मिलेको थियो । अर्थशास्त्रमा असाध्यै प्रयोग हुदै गएको विधा अर्थमिति अर्थात ‘इकोनोमेट्रिक्स’मा उल्लेखनीय काम गरे वापत उनीहरुले स्वर्ण पदक हात पारेका थिए ।

त्यो स्वर्ण पदकले अर्थशास्त्रलाई ‘हार्ड साइन्स’ वा भनौँ ‘खास विज्ञान’कै मान्यता दिएको थियो । अन्ततः अर्थशास्त्रका पनि दिन आए । यो विषयले पनि अल्फ्रेड नोबेलको मन्दिरमा आफ्नो कुटि बनायो । त्यसरी अर्थशास्त्रलाई संभ्रान्त समुहमा छिराउने घटना कम नाटकीय भन्ने पक्कै थिएन । यसका केहि पक्षधरहरु आडम स्मिथले सुरु गरेको ‘स्वार्थ’को अवधारणाबाट चल्थे । समय परिपक्व हुँदै गए पछि अरु पनि धेरै जना यसैमा खुल्न थाले । र अन्तमा चामत्कारीक रुपमा त्यहि धारणा संस्थागत हुन पुग्यो । अल्फ्रेड नोबेलको निधन सन १८९६मा भयो । मर्नु अघि उनको इच्छा सार्वजनिक भयो । जस अनुसार उनको नाममा पाँच वटा पुरस्कार स्थापना गरिए । जसमा भौतिकशास्त्र, रसायनशास्त्र, औषधी वा शरिरविज्ञान, साहित्य र शान्ति पर्थे । यी अल्फ्रेडका पञ्चपाण्डव थिए । नोबेलले अर्थशास्त्रलाई राखेका थिएनन । उनले आफ्नो जीवनमा मनग्गे धन कमाएका थिए । ३ सय ५५ वटा ‘प्याटेन्ट राइट’ उनको स्वामित्वमा थिए । जसमा एउटा विष्फोटक पदार्थ डाइनामाइटको पनि थियो । उनले ठुला हतियार तथा प्रतिरक्षा प्रणालीको निर्माता कम्पनी बोफोर्सको स्वामित्व पनि आफैले लिएका थिए ।
यति हुँदाहुँदै पनि एक पटक उनले आफ्नो फ्रान्सेली व्यावसायिक साझेदार पौल बार्बे र उनको निकट सहयोगी राग्नार सोलम्यानलाई पत्र लेख्दै ‘मलाई व्यापार प्रति ह्रदयदेखीनै घृणा छ’ भनेका थिए । प्याटेन्टसम्बन्धी मुद्दा-मामिलामा उनी परिरहन्थे । ती मुद्धामामिलाका कारण आजित हुदा उनी आफ्नो साथी बार्बेसँग व्यापारिक जीवन प्रतिको घृणा बारम्बार व्यक्त गरिरहन्थे ।

यसरी अस्तित्वमा आएको पुरस्कार ‘अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रका लागी दिईने स्वेरिजेस रिक्सबैंक (स्विडेनको केन्द्रीय बैंक) पुरस्कार’ बन्यो । तर कथा यत्ति मात्रै पक्कै होइन । अकिरा कुरोसावाको चलचित्र ‘राशोमोन’ मा देखाए जस्तै यो कथालाई विल्कुल एउटै ‘लेन्स’बाट मात्र हेर्न मिल्दैन ।
त्यहाँको केन्द्रिय बैंकका लागी यो पुरस्कार अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने अवसर बन्यो। त्यहाँका सत्ताधारी नेताहरुका लागि भने लोकतान्त्रिक अधिकारको उल्लंघन थियो। प्राकृतिक विज्ञानको क्षेत्रमा काम गर्नेहरुले अर्थशास्त्रमा दिईने यो पुरस्कारलाई आफ्नो परिधिमा भएको अनुचित हस्तक्षेपको रुपमा हेरे । उता अल्फ्रेड नोबेलको परिवारका यो घटना अल्फ्रेडको विरासतकै अपहरणको रुपमा थियो ।
अर्को पाण्डवको जन्म
सन १९६८ मा आएर छैटौँ पाण्डव किन चाहियो भन्ने बुझ्नलाई हामीले स्विडेन भित्रको एउटा लामो झगडालाई बुझ्नुपर्छ । स्विडेनको सबैभन्दा पुरानो राजनीतिक दल ‘स्वेडिस सोसल डेमोक्र्याटिक पार्टि’ र त्यहाँको केन्द्रिय बैंक ‘स्वेरिजेस रिक्सबैंक’को बिचमा धेरै लामो समय देखी बेमेल थियो ।
सन १६६८मा स्थापना भएको स्वेरिजेस रिक्सबैंक संसारकै पहिलो केन्द्रिय बैंक हो । सन १९६८मा यसको स्थापनाको ३००औं वर्षगाँठ थियो । यो उपलक्षमा ठुलै शैली र भव्यतामा वर्षगाँठ मनाउनु पर्ने थियो । त्यस समयमा बैंकका गभर्नर रहेका पर अस्बृंकले नोबेल प्रतिष्ठानमा पुरस्कार स्थापनाबारे विचार सहितको प्रस्ताव पेश गरे ।
प्रस्ताव अनुसार स्वेरिजेस रिक्सबैंकले संधैका लागी पुरस्कार रकम र प्रशासनिक खर्च व्यवस्थापन हुनेगरी आवश्यक नगद गान गर्ने भयो । पुरस्कार सञ्चालनका लागी संस्था आवश्यक थियो । त्यसका लागी ‘रोयल स्विडिस एकेडेमी अफ साइन्सेज’ले काम गर्थ्यो । त्यहि संस्थाले विजेताको छनोट गर्थ्यो । छनोटको मुल स्वरुप भौतिकशास्त्र एवम रसायनशास्त्र जस्तै हुने भनिएको थियो ।
प्रस्तावलाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न खडा भयो ।

चार दशकदेखी स्विडेनमा स्वेडिस सोसल डेमोक्र्याटिक पार्टिको शासन थियो । त्यो पार्टिले ‘जनताको घर’ अर्थात ‘फोल्कहेम्मेट’ भनिने लोककल्याणकारी राज्यको नीति लिएको थियो । त्यस अनुसार पुनर्वितरणका लागी उच्च मात्रामा कर लगाइन्थ्यो । असमानता न्युन राख्ने प्रयत्न गरिन्थ्यो । अर्थतन्त्रमा पुर्ण रोजगारी र अनुदानयुक्त सार्वजनिक आवासको व्यवस्था गरिन्थ्योन । यसले स्वेरिजेस रिक्सबैंकलाई खुम्च्याइदिएको थियो । ब्याजदर कृत्रिम रुपमा कम पार्नुपर्थ्यो । ऋण पनि योजनाबद्ध रुपमा विभाजित हुन्थ्यो । बैंकलाई सरकारी र धितोका ऋणपत्रहरु किन्न बाध्य पारिएको थियो।
स्टकहोमका केन्द्रिय बैंकवालाहरुको बुझाईमा यस्तो नीति आर्थिक चिन्तनको हिसाबले आपत्तिजनक थियो । उनीहरुको बुझाईमा सस्तो कर्जाले महँगी बढाउन सक्छ, जसले फलतः पैसा वित्तिय सम्झौता दुबैको विश्वसनियता समाप्त पार्न सक्छ भन्ने थियो । उनीहरु केन्द्रिय बैंक राजनीतिक हस्तक्षेप मुक्त हुनुपर्छ भन्ने मान्थे । तर स्वेरिजेस रिक्सबैंकको हकमा उनीहरुले सोचे जस्तो थिएन ।
सन १५७को जुलाईमा स्विडेनमा एउटा ‘कु’ भयो । ‘कु’ सेनाले गरेको थिएन । बरु त्यहि केन्द्रिय बैंक स्वेरिजेस रिक्सबैंकले गरेको थियो । इतिहासमा त्यो घटना ‘एक प्रतिशत कु’को नाममा दर्ज भयो ।
गभर्नर पर अस्बृंकले एकलौटि रुपमा केन्द्रिय बैंकको ‘डिस्काउन्ट दर’मा एक प्रतिशत विन्दुले बढोत्तरि गरिदिए । त्यसले ऋण प्रवाहमा केहि नियन्त्रण गर्ने भयो । सरकारले यसलाई ‘रेड लाइन’ पार गरेको अर्थमा लियो । सन १९६२सम्म पुग्दा सरकारी ऋणपत्रको ब्याजबाट बैंकहरुको नाफामा ठुलो वृद्धि भईसकेको थियो । स्विडेनको संसदले त्यो नाफा राष्ट्रको कोषमा जम्मा गर्नुपर्ने माग गर्यो । केन्द्रिय बैंकले सरकारसँग सम्झौता गर्यो । जस अनुसार जम्मा भएको कुल नाफाको दुई तिहाई हिस्सा सन १९६८मा बैंक स्थापनाको ३००औं वर्षगाँठ मनाउन खर्च गरिने भयो । संसदमा रहेका आलोचकहरुले केन्द्रिय बैंकलाई ‘राज्यभित्रको राज्य’को रुपमा हेर्न थाले ।
मुख्य योजनाकार अस्सर लिन्डबेक
सन १९६८को मिति नजिकिदै जाँदा केन्द्रिय बैंकका गभर्नर ठुलै इतिहास रच्ने संघारमा पुगिसकेका थिए । तर उनलाई आफुले तयार गरेको झिल्कोलाई ज्वाला बनाउन सक्ने युवा अर्थशास्त्री चाहिएको थियो । अस्सर लिन्डबेक त्यहि मान्छे बन्न पुगे । उनी उचित ठाउमा आवश्यक मान्छे बनेर आइपुगे ।
लिन्डबेक आफ्नो उमेरको तीस वर्षको वरपर बजारमा आधारित उदार अर्थशास्त्रका हिमायती थिए । उनमा दृढ आत्मविश्वास थियो । आफुले लिएको अडान र बोकेको सिद्धान्तलाई चलाउन सक्छु भन्ने विश्वास थियो । लिन्डबेकले केन्द्रिय बैंक र ‘रोयल स्वेडिस एकेडेमी अफ साइन्सेज’को बिचमा पुलको काम गरिदिए । अर्थशास्त्र नोबेलको छैटौं पाण्डव बन्ने भयो । उनले नोबेल प्रतिष्ठानको समितिका मुख्य मान्छेहरुसँग ‘लबिईङ’ पनि गरे । यसरी उनले घच्घचाएका मान्छेहरुमा स्विडेनको पुजीवादी बैकिङ खानदानका एउटा मुखिया मार्कस वालेनबर्ग पनि थिए ।
अल्फ्रेड नोबेलको सम्झनामा छैटौँ पुरस्कार पनि दिने विचारलाई नोबेल परिवारले राम्रो तरिकाले लिएन । अल्फ्रेड नोबेलका पनाति पिटर नोबेल क्रुद्ध भए । उनको विचारमा अर्थशास्त्रमा पुरस्कार दिनु भनेको अल्फ्रेड नोबेलको मानवीय प्रतिष्ठा र छवि धमिल्याउनु हुन्थ्यो । नोबेलका सन्तानमा जीवित सबैभन्दा पाको उमेरकी मार्था नोबेल पनि सुरुमा पिटर नोबेल जस्तै विचार राख्थिन । जब उनीहरुको अडानले हार्छ भन्ने भयो त्यस पछि भने मार्था र उनको परिवारले एउटा शर्त राख्यो । शर्त अनुसार पुरस्कारलाई ‘नोबेल पुरस्कार’ भन्न पाइन्नथ्यो । यसरी यो पुरस्कारको आधिकारिक नाम ‘स्वेरिजेस रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरि अफ अल्फ्रेड नोबेल’ अर्थात ‘ अल्फ्रेड्स नोबेलको सम्झनामा अर्थशास्त्र विज्ञानका लागी दिईने स्वेरिजेस रिक्सबैंक पुरस्कार’ रहन गयो ।
त्यसरी असहमति जनाउने नोबेल परिवार एक्लो थिएन । रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजका केहि सदस्यहरु पनि साथमा थिए । उनीहरु अर्थशास्त्रमा सार्वभौम स्वरुपका नियमहरुको अभाव हुने भएकाले यसलाई विज्ञानको दर्जा दिँदा नोबेल पुरस्कारले बोक्ने भावनामा ठेस पुग्ने तर्क गर्थे ।
सन १९६८ को वर्ष विश्वभर विद्यार्थी आन्दोलनको लहर चलेको थियो । उग्र विचार राख्ने बैद्धिक तथा विद्यार्थी कार्यकर्ताहरु पनि अर्थशास्त्रबारे हुन लागेको नोबेल पुरस्कार सम्बन्धि निर्णयको विरोध गर्थे । उनीहरुका अनुसार केन्द्रिय बैंकको आर्थिक सहायतामा दिईने पुरस्कार राजनीतिक हतियार हुन सक्ने अनुमान गरिएको थियो । उनीहरुको दृष्टिमा खुला बजारमा आधारित नवशास्त्रीय दृष्टिकोणले अन्य धारका(हेटेरोडोक्स) अर्थशास्त्रलाई हटाउदै वा पराजित गर्दै गएको देखिन्थ्यो ।
सबै बाधाहरु पन्छाउदै गएका पर अस्बृंक र अस्सर लिन्डबेकसामु नोबेल प्रतिष्ठान भने अझै ठुलो अवरोधकै रुपमा बाँकी थियो । प्रतिष्ठानले स्वेरिजेस रिक्सबैंकबाट पाउने भनिएको आर्थिक सहयोगलाई तीन सर्तमा स्वीकार गर्ने भयो।
पहिलो,नोबेल प्रतिष्ठानले पुरस्कार राशि वा प्रशासनिक खर्चको नाममा एक क्रोना(स्विडेनी मुद्रा) पनि दिने छैन।
दोस्रो, पुरस्कारको नाम ‘अर्थशास्त्र तर्फको नोबेल पुरस्कार’ भनिने छैन ।
तेस्रो, सन् १९६८ उप्रान्त अरु यस्ता खालका कुनै पनि पुरस्कारहरू थपिने छैनन्। यस सँगै बाँकी पुरस्कार थप्ने बाटो पनि बन्द भयो ।
यसमा अर्को चौथो प्रावधान पनि थियो। जस अनुसार आउने ५० वर्षसम्म छनोटको प्रकृयालाई गोप्य राख्ने भनिएको थियो । खासमा यहि प्रावधानका कारण केन्द्रीय बैंकका अधिकारी एवम खुला-बजारवाला उदारवादी अर्थशास्त्रीहरूले वैज्ञानिक आधिकारिकता र विश्वव्यापी मान्यता खरिद गर्न सक्ने परिस्थिति तयार भयो । पर अस्बृंक र अस्सर लिन्डबेकका लागि त यो अझ सुनमा सुगन्धनै भयो । उनीहरुले खोजेकै यहि थियो ।
सुरुवातको बखतका विवादहरु
पहिलो झट्का सन १९७४ मा देखियो । त्यो वर्ष विल्कुल विपरित विचारधारा राख्ने अर्थशास्त्रीहरुलाई पुरस्कार दिईयो । गुन्नार मिर्डाल स्विडेनको सामाजिक लोकतन्त्रका रचनाकार थिए । उता फ्रेडरिक हायक भने खुला बजारका व्याख्याता परे । राजनीतिक सन्तुलन गर्न खोजिएको प्रयत्नले काम गरेन । यी दुई अर्थशास्त्री नजिक हुनुको सट्टा टाढिएकै थिए । यसको झलक पुरस्कार समारोहमा पनि देखियो । मिर्डालले हायकलाई फर्केर पनि हेरेनन । यी दुबैमा असाध्यै न्युन विषयमा मात्रै एक मत थियो । त्यसमा एक थियो यहि पुरस्कार । यी दुबैजना यस्तो पुरस्कारको विचारसँग भने असहमत थिए ।
सन १९७६ पनि अर्को सम्झनालायक वर्ष बन्यो । त्यस वर्षको पुरस्कार मिल्टन फ्रेडम्यानलाई दिईयो । संसारभर मिल्टन फ्रेडम्यान बिरुद्ध व्यापक आलोचना थियो । आलोचना उनको सिद्धान्तमा भन्दा बेसी चिलीका तानाशाह अगष्टो पिनासेसँगको सम्भन्धलाई लिएर गरिएको थियो । फ्रेडम्यानको नयाँ पुस्तक आएको थियो । जसको शीर्षकनै ‘फ्री टु चुज’ अर्थात ‘रोज्न स्वतन्त्र’ भन्ने थियो । यसले राजनीतिक लोकतन्त्र समाप्त पार्नका लागी बजार उदारवाद थोपर्न सकिने विचार अघि सारेको थियो ।
केहि ठालुहरुको दबदबा
स्थापना पछिका २५ वर्षसम्म अस्सर लिन्डबेक छनोट समितिमा रहे । त्यसमध्ये सन १९८० देखी १९९४ सम्म त उनी छनोट समितिको प्रमुखको रुपमा थिए । उनको मातहतमा पुरस्कारले विस्तारै अर्कै रुप लिदै गयो ।
शिकागो विश्वविद्यालयसँग जोडिने अर्थशास्त्रीहरु बढिभन्दा बढि छानिन थाले । लिन्डबेकको समितिले व्यवस्थित रुपमानै वामपन्थि झुकाव राख्ने संस्थावादी अर्थशास्त्रीहरुलाई नछान्ने गर्न थाल्यो । प्रख्यात अर्थशास्त्रीहरु जोन केन्नेथ गल्ब्रेथ र जोआन रबिन्सन दुबैजना पुरस्कारका लागी योग्य पात्र थिए । तर उनीहरु वामपन्थि विचार राख्ने भएकै कारण किनारीकृत गरियो ।
सन १९९४ मा लिन्डबेक विदा भए । त्यसवेला सम्म रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजभित्र मौन क्रान्ति चल्दै थियो । आन्तरिक रुपमा गरिएको एक अध्ययनले पुरस्कारको इमान्दारितामा कहि न कहि सम्झौता भएको निश्कर्ष दियो । लिन्डबेकको बहिर्गमनले पुरस्कारलाई विविधिकरण गर्ने ढोका खोल्यो । तर अर्को समस्या भने बल्झियो । त्यो संरचनागत समस्या थियो । त्यो थियोः ठालुहरुको हैकमवाद ।
त्यस्तो हैकम गर्ने ठालुहरु दुई खाले थिए । पहिलोमा अमेरिकी पृष्ठभुमिका अर्थशास्त्री पर्थे । जसको करिब करिब एकाधिकार जस्तै थियो । करिब ८० प्रतिशत हाराहारी संख्यामा पुरस्कार या त अमेरिकी नागरिकले पाए नत्र अमेरिकी विश्वविद्यालयमा जोडिएकाहरुले पाएका थिए । पुरस्कार पाउनेहरुमा ८ वटा अमेरिकी विश्वविद्यालयको दवदवा रह्यो । जसमा शिकागो, एमआईटी, हार्वर्ड, स्ट्याफोर्ड, युसी वर्कले, प्रिन्स्टन, याले र कोलम्बिया पर्थे ।
दोश्रो खालका ठालुहरु प्राज्ञिक वंशबाट आएका थिए । सन १९७०मा दोस्रो नोबेल पुरस्कार पाउल स्यामुएल्सनले पाए । उनी त्यो पुरस्कार पाउने पहिलो अमेरिकी थिए । पछि गएर उनका २ जना विद्यार्थीले पनि त्यो पुरस्कार हात पारे । सन १९८७ मा लरेन्स क्लेन र सन १९९७मा रोबर्ट मर्टनले पाएका थिए । उनी शोध समितिमा बसेका विद्यार्थीहरु चार जनाले यो पुरस्कार पाए । जसमा रोबर्ट सोलो(१९८७), जोसेफ स्टिग्लिज(२००१), जर्ज एकेरलफ(२००१) र पाउल क्रुगम्यान(२००८) पर्छन । यो शृंखला यतिमै सकिदैन । सन १९७३ मा पुरस्कार पाएका वास्सिली लियोन्टोफ पनि हार्वर्ड विश्वविद्यालयमा स्यामुएल्सनका प्राध्यापकनै थिए ।
यस्तो किन भयो ?
नोबेल प्रतिष्ठानको विधान अनुसार विगतमा त्यो पुरस्कार पाएकाहरु, रोयल स्वेडिस एकेडेमी अफ साइन्सका सदस्यहरू एवम ‘सम्भ्रान्त’ विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले नयाँ संभावित उम्मेदवार मनोनयन गर्न सक्छन्। यसरी ‘रोजिएका’ भनिएका प्राध्यापकको छनोटचाहि नोबेल प्रतिष्ठानले गर्ने भयो । अर्थशास्त्रका तीन प्रमुख मानिने जर्नलहरू ‘अमेरिकन इकोनोमिक रिभ्यू’, ‘क्वार्टरली जर्नल अफ इकोनोमिक्स’ र ‘इकोनोमेट्रिका’को सम्पादन शीर्ष अमेरिकी विश्वविद्यालयहरूका अर्थशास्त्र विभागले गर्छन । ती ठुला जर्नलको ‘पियर रिभ्यु’मा यीनै सम्पादकहरूको नियन्त्रण हुन्छ । ‘साइटेसन’को गणनालाई यीनैले तय गर्न सक्छन । नोबेल समितिले मूल्याङ्कन गर्ने प्रमुख आधार तीनिहरुनै हुन ।
अन्तमा
केन्द्रीय बैंकवालाहरूले अर्थशास्त्रलाई भौतिक विज्ञान समानको दर्जा दिन ‘स्वेरिजेस रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरी अफ अल्फ्रेड नोबेल’ स्थापना गरे । स्थापनाको आधा शताब्दीभन्दा बढी समयसम्म आइपुग्दा अर्थशास्त्र विज्ञान होइन भन्ने प्रष्ट भयो । यसमा मानवीय, सामाजिक र राजनीतिक तत्वहरू छन् भन्ने पुनः सिद्ध भईरहेको छ ।
पुरस्कार जितेका आर्थिक ‘मोडेल’हरु पनि विवादाको घेरा भन्दा बाहिर रहेनन ।सन १९९७मा रोबर्ट मर्टन र मिरन स्कोल्सले ‘अप्सन प्राइसिङ’ मा योगदान गरेको भन्दै पुरस्कार हात पारे । लगत्तै अर्को साल उनीहरुकै ‘हेज फण्ड’ डुब्यो ।
पुरस्कार वितरणको निर्णय गर्ने संस्थापनमा हावी रहेको पुर्वाग्रहका कारण पुरस्कार केवल एक पक्षिय जस्तो भयो । नवशास्त्रीय अर्थशास्त्रलाई निरन्तर विजयी बनाइयो । त्यससँगै अर्थशास्त्र भित्रको विविधता तथा अन्य वैकल्पिक विचारहरु भने अँध्यारोमा धकेलिए ।
मलाई लाग्छ हरेक वर्ष ‘स्वेरिजेस रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरी अफ अल्फ्रेड नोबेल’ दिईदा त्यसलाई आलोचनात्मक दृष्टि सहित हेर्नुपर्ने हुन्छ । पुरस्कार प्रदान गर्न आधार बनाइएका विश्लेषणात्मक ‘टुल’हरु साँच्चिकै सम्मानगर्न लायकनै हुन्छन । तर ती मोडेलमा आकर्षित हुँदै गर्दा हामीले ख्याल गर्नुपर्ने अर्को महत्वपुर्ण विषय पनि छः कुनै एउटामात्रै आर्थिक विचारले पुरै सत्यको प्रतिनिधित्व गर्दैन ।
(द डेलि स्टारबाट)
लिंकः- https://www.thedailystar.net/slow-reads/big-picture/news/the-politics-behind-the-nobel-prize-economics-4297241