बर्जर पेन्टस् गुणस्तरहीन ठहर, उपभोक्तालाई १२ लाख ७८ हजार क्षतिपूर्ति तिर्नुपर्ने

मदन ढुङ्गाना

तपाईँहरूले एउटा विज्ञापन त खुबै हेर्नुभएकै होला । घरमा लगाउने रङका सम्बन्धमा । विज्ञापनमा भनिन्छ, ‘घामपानी छेक्छ, १० वर्ष टिक्छ ।’

विज्ञापनमा त पेन्टसको वेदरकोटले भित्तालाई ओसिलो हुनबाट पनि बचाउने भनिन्छ ।

अहिले त त्यही विज्ञापनलाई परिमार्जन गरेर ‘घामपानी छेक्छ, अब १२ वर्ष टिक्छ ।’ भनिएको छ ।

यो विज्ञापन हो, बर्जर पेन्टसको ।

बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिको उत्पादन रहेको बर्जर पेन्टसले जसरी विज्ञापन गरेको छ, यसको उत्पादन भने त्यसको ठिक विपरीत रहेको पाइएको छ । बर्जर पेन्टसले आफ्नो विज्ञापनमै रङ अनुसार ७ देखि १५ वर्षसम्मको वारेन्टी हुने बताएको छ । उसले वारेन्टीको समयभन्दा बढी त टिक्ने ठोकुवा नै गरेको छ ।

तर वास्तविकता भने फरक छ ।

घामपानी छेक्छ, १२ वर्ष टिक्छ भनेर विज्ञापन गरेपछि लोभिएर बर्जर पेन्टस खरिद गरेका भक्तपुरका दीपकराज गिरी र दयाराम कार्की तथा काठमाडौंका सिद्धान्त श्रेष्ठ यतिबेला पछुताइरहेका छन् ।

१० वर्षको वारेन्टी र १२ वर्ष टिक्ने भन्ने विज्ञापन देखेर लोभिएका उनीहरूले भक्तपुरको भक्तपुर नगरपालिका ३ घलातेमा रहेको फ्रेन्डस् फरेभर ट्रेडिङ प्रालिबाट बर्जरको पेन्टस किनेर आफ्नो घर रंगाएका थिए ।

घरलाई सुन्दर देखाउन महँगो मूल्यको बर्जरको पेन्टस खरिद गरेका उनीहरूको अनुहारमा उक्त सुन्दरता ६ महिना पनि टिक्न सकेन । किनभने १२ वर्ष टिक्ने भनिएको बर्जरको पेन्टस १२ महिना पनि टिक्न सकेन । बरु कसैको ६ महिना त कसैको ८ महिनामै खुइलिन थाल्यो, रङ उड्न थाल्यो र फुस्रो देखिन थाल्यो ।

फरकफरक मितिमा बर्जरको रङ खरिद गरेका उनीहरू तीनैजना फरकफरक समयमा रङ खुइलिएको, धब्बा देखिएको भन्दै रङ किनेको फ्रेन्डस फरेभर ट्रेडिङ प्रालिमा पुगे । बर्जर पेन्टसको डिलर रहेको फ्रेन्डस् फरेभर ट्रेडिङ प्रालिका सञ्चालक दिनेश गिरीलाई भेट्न गए ।

दिनेशले उपभोक्ताको गुनासो सुनेपछि उत्पादक कम्पनीका म्यानेजरलाई नै जानकारी गराइदिए । गुनासो आएको लामो समयपछि मात्रै बर्जर पेन्टसका म्यानेजरले रङको निरीक्षण गर्न ती घरहरूमा पठाइदिए । तर रङमा कुनै समस्या नरहेको भन्ने प्रतिवेदन दिइयो ।

जबकि रङ लगाएको ६ देखि ८ महिनामै खुइलिएर फुस्रो भइसकेको रङ ठीक छ भन्दै प्रतिवेदन दिएपछि वारेन्टीको विषय पनि ती उपभोक्ताहरूले उठाए । तर कम्पनीले वारेन्टी दिने कुरा नै गरेन ।

वारेन्टीको विषयमा उपभोक्ताले डिलरसँग पनि कुरा गरे । डिलरलाई त कम्पनीले एकपटक गुणस्तरीय छ भनेर सामान किनेपछि वारेन्टी दाबी गर्न नपाइने भनेर सम्झौता नै गराइसकेको हुने रहेछ । फ्रेन्डस फरेभरका सञ्चालक दिनेश गिरीले सोही कुराको जानकारी गराएपछि उपभोक्ता बाध्य भएर बर्जर पेन्टसविरुद्ध मुद्दा लिएर उपभोक्ता अदालत त्रिपुरेश्वरमा पुगे ।

के भनेर दायर गरियो मुद्दा ?

तीनजनाकै तर्फबाट संयुक्त रूपमा दायर गरिएको मुद्दामा बर्जर पेन्टस नेपालको उत्पादक बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालि र त्यसका डिलर फ्रेन्डस फरेभर ट्रेडिङलाई विपक्षी बनाइएको छ ।

फिरादपत्रमा भक्तपुर नगरपालिका वडा नम्बर ३ घलातेस्थित फ्रेन्डस् फरेभर ट्रेडिङ प्रालिबाट दयाराम कार्कीले मिति २०८१ वैशाख १९ गते, दीपकराज गिरीले २०७६ भदौ ६ गते र सिद्धान्त श्रेष्ठले २०७८ चैत १५ गते बर्जर कम्पनीको रङहरू ७ वर्ष, १० वर्ष वारेन्टी छ भनी खरिद गरेको उल्लेख गरेका छन् । तर ती रङ घरमा लगाएको ६ देखि ८ महिनामा नै खुइलिएको हुँदा फिरादीहरूले डिलर दिनेश गिरीलाई जानकारी गराएको, दिनेश गिरीले बर्जरका म्यानेजरलाई सोही विषयमा जानकारी गराएपछि कम्पनीका प्रतिनिधिहरू आफैँ आएर परीक्षण गरी केही महिनाभित्र मर्मत गरी रङ लगाइदिने वाचा गरेको दाबी गरिएको छ । तर पछि कम्पनीले उत्पादन गरेको रङको बट्टा र बाल्टिनमा लेखिएबमोजिमको वारेन्टी नदिएको, उक्त विषयमा पूरै बेवास्ता गरेको, रङ खुइलिएको र घरमा रङ लगाउन गरिएको लगानी कम्पनीले दिएको वारेन्टी नदिएको कारण हानि भएको उल्लेख छ ।

 

सुरुमा उनीहरूले सोही कम्पनीमै हानि नोक्सानी क्षति भएको दाबीसहित उजुरी दिए पनि कम्पनीले बेवास्ता गरेको, वारेन्टी छ भनी उपभोक्तालाई वारेन्टी पेपर नदिई सूचनाबाट मात्र जानकारी दिने गरेको तर वारेन्टी अनुसारको क्षतिपूर्ति मागदाबी गर्न जाँदा कुनै पनि किसिमको वारेन्टी छैन भन्ने जवाफ प्राप्त भएको फिरादमा उल्लेख छ । कम्पनीले वारेन्टी पनि नदिएको, नयाँ रङ पनि नलगाइदिएको कारण क्षति भएको भन्दै दीपकराज गिरीले १ लाख १९ हजार ९४१ रुपैयाँ, दयाराम कार्कीले ७ लाख ४५ हजार ८९४ रुपैयाँ र सिद्धान्त श्रेष्ठले ३ लाख २५ हजार ८४१ रुपैयाँ गरी कुल १२ लाख ११ हजार ६७६ रुपैयाँको रकम र त्यसमा भरिभराउ हुँदाको मितिसम्मको कानुन अनुसारको क्षतिपूर्तिबापतको रकम तथा मुद्दाका क्रममा लाग्ने सम्पूर्ण शुल्कसमेत विपक्षीबाट भराईपाउन मागदाबी लिएका थिए ।

डिलरले भने, ‘उपभोक्तालाई क्षतिपूर्ति दिने दायित्व उत्पादक कम्पनीकै’

डिलरलाई समेत विपक्षी बनाएर मुद्दा दायर भएपछि डिलर फ्रेन्डस फरेभर ट्रेडिङ प्रालिले प्रतिउत्तर दिँदा उनीहरूले आफ्नोबाट रङ खरिद गरेको र खुइलिएको भए पनि क्षतिपूर्ति दिने दायित्व आफ्नो नभएर कम्पनीकै भएको प्रतिउत्तर दिए ।

प्रतिउत्तरमा दिनेश गिरीले आफूले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिको रङ मात्र बिक्री वितरण गर्ने गरेको र उत्पादनमा कुनै त्रुटि नभएको जानकारी उत्पादक कम्पनीले नै दिएको बताएका छन् । उनले आफूले बिक्री गरेको रङ केही महिनामै खुइलिएको गुनासो आएपछि उत्पादक कम्पनीका प्रतिनिधिले छानबिन गरी रङमा कुनै डिफेक्ट नभएको भनी जानकारी गराएको प्रतिउत्तरमा लेखेका छन् ।

गिरीले आफू र बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिबीच भएको सम्झौतामा स्पष्ट रूपमा उत्पादनमा कुनै पनि किसिमको वारेन्टी नहुने र सामान बुझिसकेपछि गुणस्तरबारे कुनै दाबी गर्न नपाउने उल्लेख रहेको बताएका छन् । तर, उत्पादक कम्पनीले आफैँले रङको बट्टामा ‘वारेन्टी छ’ भनी विज्ञापन गरी उपभोक्तालाई भ्रमित पारेको कारण वारेन्टी वा क्षतिपूर्तिको दायित्व पनि कम्पनीकै हुने बताएका छन् ।

 

साथै दिनेशले उपभोक्ता संरक्षण ऐन, २०७५ को विपरीत कार्य उत्पादक कम्पनीले गरेको हुँदा क्षतिपूर्ति दिने दायित्व पनि बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिकै रहने प्रतिउत्तरमा उल्लेख गरेका छन् । आफू विक्रेता मात्रै भएको र उत्पादक कम्पनीसँगको सम्झौताअनुसार आफूमाथि कुनै दायित्व नरहेको भन्दै उनले आफ्नो हकमा फिराद दाबी खारेज गर्न माग गरेका थिए । साथै उत्पादक कम्पनीले गलत सूचना दिँदा आफ्नो व्यवसायमा समेत असर परिरहेको उनको प्रतिउत्तरमा उल्लेख छ ।

यसमा फ्रेन्डस फरेभर ट्रेडिङ प्रालिले प्रतिउत्तर दिए पनि बर्जर पेन्टसले भने पेलेरै जान्छु भन्दै प्रतिउत्तरसमेत दिन चाहेन । उसले म्याद बुझेको भए पनि प्रतिउत्तर नदिएपछि उपभोक्ता अदालतले प्राप्त बिलको विवरण, घरमा लगाइएको फोटो र भिडियो, विज्ञापन, बट्टामा उल्लेख भएको वारेन्टी समय आदि हेरेर फैसला सुनाएको थियो ।

२०८२ माघ २६ गते उपभोक्ता अदालतका सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले फैसला सुनाउँदै बर्जर पेन्टसको रङ गुणस्तरहीन रहेको पाइएको, विज्ञापन र वाचा गरेअनुसारको वारेन्टी उपभोक्तालाई नदिएको र दायित्व आफूबाट सारेर डिलरलाई मात्रै जिम्मेवार बनाउन खोजिएको भन्दै बर्जर पेन्टसले उपभोक्तालाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ हालसालै मात्रै सार्वजनिक भएको हो ।

उपभोक्ता अदालतको ठहर, ‘बर्जरले भ्रामक विज्ञापन गर्‍यो’

२०८२ मंसिर ३ गते उपभोक्ता अदालतमा दर्ता भएको उक्त मुद्दामा उपभोक्ता अदालत, काठमाडौंले बहुराष्ट्रिय कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिलाई आफ्नो उत्पादनको भ्रामक विज्ञापन गरेको ठहर गर्दै उपभोक्ताहरूलाई क्षतिपूर्ति भराउने फैसला गर्‍यो । अदालतका सदस्यद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले गरेको फैसलामा बर्जर पेन्टसको गुणस्तर कमजोर रहेको पाइएको र बजारमा गलत प्रचार गरी उपभोक्तालाई झुक्याउने काम गरेको ठहर गरेको हो ।

बर्जरले आफ्नो उत्पादन ‘वेदरकोट अल गार्ड’ र ‘वेदरकोट लङ लाइफ’ रङहरू घरको बाहिरी भागमा लगाउँदा ७ देखि १० वर्षसम्म टिक्ने र वारेन्टी हुने गरी विज्ञापन गरेको पाइएको थियो । बर्जरका रङका बट्टाहरूमा समेत ‘वारेन्टी ७ वर्ष’ र ‘वारेन्टी १० वर्ष’ भनी लेखिएको भेटिएको थियो । तर, रङ लगाएको ६ देखि ८ महिनामै खुइलिएपछि उपभोक्ताहरूले गुनासो गर्दा कम्पनीले सुरुमा मर्मत गरिदिने आश्वासन दिए पनि कार्यान्वयन नगरेको फैसलामा लेखिएको छ । क्षतिपूर्ति माग्दासमेत ‘कुनै वारेन्टी छैन’ भन्ने जवाफ दिएको फैसलामा भनिएको छ ।

डिलरसँगको सम्झौता र उपभोक्ता अधिकारको हनन

आफ्नो बचाउमा बर्जर पेन्टस अदालत नगे पनि डिलर फ्रेन्ड्स फरेभर ट्रेडिङ प्रालिसँग भएको सम्झौतामा ‘कुनै पनि किसिमको वारेन्टी नहुने’ उल्लेख रहेको कारण तिर्नु नपर्ने भनी तर्कसमेत गरिएको थियो । तर, अदालतले सार्वजनिक रूपमा विज्ञापन गरेर उपभोक्तालाई आकर्षित गर्ने तर गोप्य सम्झौतामा वारेन्टीको दायित्व अस्वीकार गर्ने कार्यलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ को उपदफा १ को बुँदा नम्बर छ विपरीतको कार्य भएको ठहर गर्‍यो ।

उक्त दफामा वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचारप्रसार गर्ने कार्य उल्लेख छ । सोही आधारमा अदालतले भन्यो, ‘विज्ञापनमा गरिएको प्रचार सर्वसाधारणसम्म गरिएको सार्वजनिक मनसाय हो, जसको विपरीत सर्त राख्न मिल्दैन ।’

त्यस्तै, कम्पनीले वारेन्टी सर्टिफिकेट पाउन न्यूनतम ४० लिटर रङ खरिद गर्नुपर्ने सर्त राखेकामा पनि अदालतले अमान्य ठहर गरिदिएको छ । साथै, पहिलो वर्षमा ९० प्रतिशत मात्रै क्षतिपूर्ति दिने र प्रतिवर्ष घटाउँदै लैजाने सर्तलाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा २ को खण्ड छ विपरीतको कार्य भएको अदालतको ठहर छ ।

कानुनले के भन्छ ?

उपभोक्ता अदालतले बर्जरलाई दोषी ठहर गर्दै उपभोक्ताको पक्षमा फैसला सुनाउँदा मुख्यतः यी तीन कानुनलाई लिएको छ,

पहिलो, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ : उत्पादकले गलत वा भ्रामक विज्ञापन गर्न पाउँदैन ।

दोस्रो, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ११ (ङ) : वस्तुमा ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यसको पालना गर्नुपर्छ ।

र तेस्रो, मुलुकी देवानी संहिता, २०७४ को दफा ५५१ : ‘खास गुणस्तर’ भनी प्रचार गरिएको वस्तुको दायित्व उत्पादकको रहन्छ, सामान्य गुणस्तरको जस्तो मान्न मिल्दैन ।

यसरी उपभोक्ता अदालतले सामान्य गुणस्तर रहेको सामानलाई पनि बर्जर पेन्टसले खास गुणस्तरको भनी प्रचार गरेको ठहर गरेको छ ।

यो फैसलाको कार्यान्वयन भइसकेको हो कि होइन, यस सम्बन्धमा बर्जर पेन्टस माथिल्लो अदालत गयो कि गएन भनेर सोध्न हामीले बर्जर पेन्टसलाई सम्पर्क गरेका थियौँ । ०१–५१९९२१८ नम्बरमा सम्पर्क गर्दा त्यहाँकी एक कस्टमर केयर रिप्रिजेन्टेटिभले के के विषयको जानकारी चाहिएको हो आधा घण्टामा खबर गर्छु भनेकी थिइन् । तर त्यसपछि बर्जर पेन्टस सम्पर्कमा नै आएन ।