
काठमाडौँ । बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । पुलको क्षतिग्रस्त भागमा सोमबार बेलिब्रिज जडान गर्ने काम सम्पन्न भएपछि सञ्चालनमा ल्याइएको हो ।
निर्माण सम्पन्न भएसँगै आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । पुल क्षतिग्रस्त भएपछि रोकिएको यातायात सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।
बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको छ।