दसैँमा उपत्यकामा सशस्त्र प्रहरीका दुई निःशुल्क बस सञ्चालन

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा सर्वसाधारणको सहज आवतजावतका लागि दुई वटा निःशुल्क बस सञ्चालन गरेको छ ।

दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सोमबारदेखि लगातार तीन दिनसम्म सञ्चालन हुने उक्त बस सेवा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुनेछ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिनेछ ।

त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्दै सहज आवतजावतको व्यवस्था गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खबर

सिफारिस