
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ घरदैलोमा आइसकेको छ । दसैँलाई नयाँ कपडा लगाउने, मीठो खाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र रमाइलो गर्ने पर्वका रूपमा लिइन्छ । तर, पछिल्लो समय दसैँ धेरै परिवारका लागि रमाइलोसँगै आर्थिक भार थपिने चाडसमेत बन्न थालेको छ ।
सीमित आम्दानी र बढ्दो खर्चका कारण चाडपर्वका बेला धेरैलाई बजेट व्यवस्थापन गर्न कठिन हुने गर्छ । दसैँमा सबैलाई आफूलाई मन पर्ने वस्तु किन्ने, परिवारका सदस्यलाई उपहार दिने र घुमफिर गर्ने रहर हुन्छ । तर, आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गरेर चाडपर्व मनाउँदा त्यसको असर लामो समयसम्म पर्न सक्छ । त्यसैले आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नु आवश्यक हुन्छ ।
दसैँमा बजेट व्यवस्थापन गर्न सबैभन्दा पहिले आफ्नो आम्दानी कति छ भन्ने स्पष्ट रूपमा बुझ्नुपर्छ । आम्दानीको यथार्थ हिसाब गरेपछि दसैँमा कति खर्च गर्न सकिन्छ भन्ने निर्धारण गर्न सहज हुन्छ । चाडपर्व हो भन्दै ऋण लिएर वा भविष्यको आम्दानीसमेत खर्च गरेर रमाइलो गर्नु आर्थिक रूपमा उचित हुँदैन ।
दसैँमा रहर र देखासिकीको होडबाजीमा आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर खर्च गर्ने प्रवृत्तिले गर्दा चाडपर्व सकिएपछि लामो समयसम्म ऋणको बोझ बोक्नुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । यस्तो अवस्थामा आफ्नो वास्तविक आर्थिक हैसियत र क्षमतालाई बुझेर बुद्धिमानीपूर्वक बजेट व्यवस्थापन गर्नु नै आजको मुख्य आवश्यकता हो । त्यसका लागि दसैँ नै खर्चको योजना बनाउनु राम्रो हुन्छ ।
कसरी बनाउने दसैँ खर्चको योजना ?
१.अनिवार्य र ऐच्छिक खर्च छुट्टाउने
अनिवार्य खर्च :
खर्च गर्दा अनिवार्य र ऐच्छिक खर्च छुट्टाउने गर्नु निकै आवश्यक हुन्छ । जीवनयापनका लागि नभई नहुने खर्चलाई अनिवार्य खर्चका रूपमा राखिन्छ । खाना, घर भाडा, औषधी, शिक्षा, यातायात तथा अन्य आवश्यक खर्चलाई पहिलो प्राथमिकता दिनुपर्छ । दसैँ खर्च अन्तर्गत भने घर यात्राका लागि लाग्ने यातायात खर्च, घरका मान्यजनबाट लिइने टिका-जमरा र आशीर्वादका लागि आवश्यक पूजा सामग्री, तथा परिवारका लागि आवश्यक खाद्यान्न पर्दछन् । यी खर्चहरू जीवनयापन र संस्कृति निरन्तरताका लागि नभई नहुने भएकाले पहिलो प्राथमिकतामा राखिनुपर्छ ।

दसैँमा बजारमा विभिन्न छुट तथा अफर आउने भएकाले आवश्यकताभन्दा बढी सामान खरिद गर्ने सम्भावना पनि हुन्छ । सस्तो पाइयो भन्दैमा आवश्यक नभएको वस्तु किन्नु हुँदैन । खरिद गर्नुअघि आफूलाई त्यो वस्तु वास्तवमै आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्छ ।
ऐच्छिक खर्च :
नयाँ महँगा कपडा, बहुमूल्य गहना, महँगा उपहार र अनावश्यक मनोरञ्जनजस्ता विषयहरू ऐच्छिक खर्चभित्र पर्छन् । यदि आर्थिक अवस्थाले साथ दिँदैन भने यस्ता ऐच्छिक खर्चलाई कटौती गर्न वा आर्थिक स्थिति सहज नभएसम्मका लागि स्थगित गर्नुपर्ने हुन्छ ।
२. आम्दानीको लेखाजोखा र सीमित बजेट निर्धारण
दसैँका लागि खर्च जुट्नुभन्दा पहिले आफ्नो कुल आम्दानी कति हो भन्ने कुरामा स्पष्ट हुन वा बुझ्नु निकै आवश्यक छ । चाडपर्वको नाममा आफ्नो कमाइभन्दा बढी खर्च गर्नु वा अरूलाई देखाउनकै लागि ऋण खोजेर तडकभडक गर्नु बुद्धिमानी मानिँदैन । चाडपर्व सकिएपछि आउने आर्थिक संकटले भविष्यको जीवनयापनमै गम्भीर असर पार्न सक्छ । त्यसैले, चाडपर्वमा गरिने कुल खर्च आफ्नो आम्दानीको निश्चित सीमाभित्र हुनुपर्छ ।
३. योजनाबद्ध किनमेल र देखासिकीको अन्त्य
चाडपर्वमा अन्धाधुन्ध किनमेल गर्नुको सट्टा पूर्व-योजना बनाएर मात्र बजार निस्कनु निकै राम्रो हुन्छ । घरमा पहिले नै भएका राम्रा लुगा कपडालाई पुनः प्रयोग गर्ने, आवश्यक सामग्रीको सूची बनाएर मात्र खरिद गर्ने र छुट तथा अफरहरूको सही उपयोग गर्नाले धेरै हदसम्म खर्च घटाउन सकिन्छ ।
सांस्कृतिक हिसाबले दसैँ भनेको पारिवारिक पुनर्मिलन, भ्रातृत्व, सम्मान र खुसी साटासाट गर्ने पर्व हो, न कि धन सम्पत्ति र तडकभडक प्रदर्शन गर्ने माध्यम । आफन्त र छरछिमेकको देखासिकीमा लागेर आफ्नो क्षमताभन्दा माथि गएर खर्च गर्ने परिपाटीलाई छाड्नुपर्छ ।
चाडपर्वको वास्तविक अर्थ रौस र फजुल खर्चमा होइन, आत्मीयता र सन्तुष्टिमा लुकेको हुन्छ । त्यसैले, यो दसैँमा आफ्ना सीमित स्रोत र साधनको सही सदुपयोग गर्दै, अनावश्यक ऋणको भारबाट बचेर पारिवारिक खुसीका साथ दसैँ मनाउनु नै बुद्धिमानी हुनेछ ।