मलेसिया जाने कामदारमाथि बायो–मेडिकलको नाममा लुट : पक्राउ परेका प्रविण तिवारी कांग्रेसको नेता

दियोपोस्ट संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकहरूबाट स्वास्थ्य परीक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी अतिरिक्त रकम असुली गरी ठगी धन्दा चलाउने एक गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । म्याक्रोटेक प्रा.लि.को नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज’ शीर्षकमा गैरकानूनी रूपमा अतिरिक्त शुल्क उठाई संगठित रूपमा रकम संकलन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । प्रतिवादीहरूले श्रमिकलाई आर्थिक हानि पुरÞ्याएर गैरकानूनी आर्थिक लाभ लिएको ठहर गर्दै ठगी सम्बन्धी कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यस ठगी प्रकरणमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूको विवरण पनि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. १ बस्ने वर्ष ४२ का कैलाश खड्का, जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका, वडा नं. ९ बस्ने वर्ष ४० का रविन्द्र के.सी., जिल्ला गोरखा, गोरखा नगरपालिका, वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका, वडा नं. ११, महादेवटार बस्ने वर्ष ४२ का प्रविण तिवारी र जिल्ला सर्लाही, मलंगवा नगरपालिका, वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नयाँबस्ती बस्ने वर्ष ४५ का रामपुकार तिवारी रहेका छन् ।

पक्राउ परेका तिवारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । गोरखाबाट महाधिवेशन प्रतिनिधि रहेका उनीसँग गण्डकी प्रदेशकै भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रीको समेत शंकाष्पद कारोबार रहेको सिआइबी स्रोतले जनाएको छ ।

पक्राउ परेका तिवारीसहितका अभियुक्त विरुद्ध सीआइबीले अदालतबाट ४ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस