तिथि वृद्धिले दुई दिन महाअष्टमी, आज पनि पूजा र कर्म दोहोर्‍याउनुपर्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।

समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा अन्य कर्म कात्तिक २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने समितिले जनाएको हो ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्नेछ । यस दिन महाअष्टमीका अन्य कर्मसमेत दोहोर्‍याउनुपर्ने समितिले स्वीकृत गरेको पात्रोमा उल्लेख छ ।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने जनाइएको छ । अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइनेछ ।

धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा कुनै फरक पर्दैन ।

यसैबीच, हनुमानढोका दरबारस्थित दसैँ घरमा आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको मूल पूजा सोमबार गरिनेछ ।

महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ ।

सिफारिस