दसैँ बिदामा पनि मानव अधिकार आयोगको कार्यालय खुला रहने

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरू दसैँ बिदाका दिनमा पनि खुला रहने भएका छन् । मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरी ग्रहण गर्न तथा आकस्मिक प्रकृतिका घटनाको अनुगमन गर्न आयोगले बिदाका दिनमा समेत कार्यालय खुला राख्ने व्यवस्था गरेको हो ।

आयोगको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी दिन तथा आकस्मिक प्रकृतिका घटनाबारे जानकारी गराउन सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।

आकस्मिक प्रयोजनका लागि आयोगले तोकेका कार्यालय तथा मोबाइल नम्बरमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दसैँ बिदाका समयमा पनि मानव अधिकारको संरक्षण तथा संवर्द्धनसम्बन्धी कार्यलाई निरन्तरता दिन कार्यालय खुला राख्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।