नाक थुन्नुपर्ने बिहान, दुर्गन्धमै सुत्नुपर्ने रात : यस्तो छ मजुवावासीको दैनिकी

रीता बुढाथोकी

बुटवल । घरको आँगनमा उभिँदा नाक थुन्नुपर्ने ! खाना खान मन नलाग्ने र राति सुत्दासमेत फोहोरको दुर्गन्धले सताउने ? गर्मी बढेसँगै झिँगा र लामखुट्टेको प्रकोप थपिने । कहिलेकाहीँ फोहोर जलाउँदा निस्कने धुवाँले बस्ती नै ढाकिने । बुटवल उपमहानगरपालिका-११ सिरान गाउँ मजुवाका स्थानीयले विगत ६ वर्षदेखि भोग्दै आएको समस्या हुन् यी ।

बुटवलका विभिन्न टोलबाट संकलन गरिने फोहोर अन्तिममा थुपारिने ठाउँ बनेको छ, मजुवा क्षेत्र । तर, बस्तीको छेउमै फोहोरको डङ्गुर बढ्दै जाँदा यहाँका बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि अस्थायी रूपमा प्रयोग गरिएको क्षेत्र वर्षौँ बितिसक्दा पनि विकल्पविहीन बनेपछि स्थानीयले दुर्गन्ध, स्वास्थ्य जोखिम र विकासका अधुरा आश्वासनबिच जीवन बिताउनुपरेको छ ।

मजुवाका स्थानीय मुरारी मल्ल यहाँ बस्न थालेको करिब चार वर्ष भयो । उनी यस ठाउँमा बसाइँ सरेर आउँदा फोहोरको दुर्गन्धसँग अभ्यस्त हुन निकै समय लागेको सम्झन्छन् । घर नजिकै थुपारिएको फोहोरका कारण सुरुका दिनमा खाना खानसमेत मन नलाग्ने र राति सुत्न पनि कठिन हुने गरेको उनको अनुभव छ ।

‘दिनरात फोहोरको गन्ध सुँघेर बस्नुपरेको छ,’ मल्ल भन्छन्, ‘पहिले निकै समस्या हुन्थ्यो । अहिले त बानी परिसक्यो, तर गर्मीमा अझै गाह्रो हुन्छ । मच्छर र झिँगा धेरै आउँछन् । फोहोर व्यवस्थापन अन्तै गरिदिए हामीलाई ठुलो राहत हुन्थ्यो ।’
त्यसो त, मझुवाबासीले वर्षौँदेखि बाढीको समस्या समेत भोग्दै आएका थिए । तिनाउ खोलाको बाढी बस्तीमा पस्ने खतरा भएकाले बाँध निर्माण गर्ने विषयमा नगरपालिकासँग सहमति भएको थियो । फोहोर व्यवस्थापनका लागि ठाउँ उपलब्ध गराए बापत बाँध बनाइदिने भन्दै उपमहानगरपालिकाले स्थानीयसँग सहमति गरेको मल्ला बताउँछन् । तर, बाँध निर्माणको विषयसमेत कार्यान्वयन हुन नसकेको मल्लको गुनासो छ ।

मल्लका अनुसार फोहोरको दुर्गन्ध अहिले पनि उस्तै छ । समय बित्दै जाँदा दुर्गन्ध सहने बानी परे पनि त्यसबाट उत्पन्न हुने जोखिम भने कम भएको छैन ।

मजुवाका स्थानीय टेकबहादुर क्षेत्री यस क्षेत्रमा ३९ वर्षदेखि बस्दै आएका छन् । पछिल्ला ६ वर्षदेखि टोलमा फोहोर फाल्न थालेको र आफूहरूले त्यसको विरोध गर्दै आएको उनले बताए । तर, आफूहरूको आवाज सुनुवाइ नभएको उनको भनाइ छ ।

‘बस्तीको बीचमा फोहोर फाल्न हुँदैन भनेर हामीले सुरुदेखि विरोध गर्दै आयौँ । तर, जति विरोध गरे पनि केही भएन । हाम्रो कुरा कसैले सुनेनन्,’ क्षेत्री भन्छन्, ‘फोहोरका कारण दिनरात वातावरण दुर्गन्धित बनेको छ । स्वास्थ्य बीमा गरिदिएको भनिन्छ, तर त्यससम्बन्धी कागजपत्रसमेत हामीलाई दिइएको छैन ।’

स्थानीय सीता क्षेत्री पनि फोहोर फाल्न थालेयता गर्मी मौसममा झिँगा र लामखुट्टेको समस्या बढेको बताउँछिन् । दुर्गन्ध र कीराको प्रकोपले दैनिक जीवन प्रभावित भएको उनको भनाइ छ ।

त्यसो त, मजुवामा फोहोर फाल्ने विषयलाई लिएर स्थानीय र बुटवल उपमहानगरपालिकाबिच पटक-पटक विवाद हुँदै आएको छ । केही वर्ष पहिले पनि स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आन्दोलन गरेका थिए । त्यस बेला दुर्गन्ध फैलिएको, स्वास्थ्यमा असर परेको र बस्तीको वातावरण बिग्रिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेर फोहोर बोकेर आउने गाडीसमेत रोकेका थिए ।

त्यसपछि उपमहानगरपालिका र स्थानीयबिच विभिन्न सहमति भएको थियो । एक वर्षभित्र मजुवामा फोहोर फाल्न बन्द गरी अन्यत्र व्यवस्थापन गर्ने सहमति भएको स्थानीय विनोद ढुङ्गानाको भनाई छ । तर, सहमति भएको लामो समय बितिसक्दा पनि वैकल्पिक स्थानको व्यवस्था हुन नसकेको उनले बताए ।

विगत ६ वर्षदेखि उपमहानगरपालिकाले मजुवालाई अस्थायी फोहोर व्यवस्थापन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको सिरान गाउँ मजुवा दोस्रो टोल विकास समितिका अध्यक्ष ऋषभ पोखरेल बताउँछन् । यसबिच स्थानीयले समस्या समाधानका लागि पटक-पटक स्थानीय सरकारको ध्यानाकर्षण गराए पनि ठोस परिणाम नआएको उनको गुनासो छ ।

ऋषभ पोखरेल, स्थानीयवासी

‘हामी बाढीको जोखिमसँगै फोहोरको जोखिममा पनि परेका छौँ,’ पोखरेल भन्छन्, ‘बाढीको जोखिम कम गर्न बाँध निर्माण हुने र बस्तीको विकास हुने आश्वासन पाएपछि फोहोर फाल्न दिने सहमति गरिएको थियो । तर, हामीलाई दिइएका आश्वासन अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।’

उनका अनुसार विकासका पूर्वाधार निर्माण र फोहोर व्यवस्थापन सँगसँगै अघि बढ्ने अपेक्षामा स्थानीयले सहमति जनाएका थिए । तर, विकासका काम अपेक्षाअनुसार अघि नबढ्दा स्थानीयले आफूहरूलाई फोहोरको जोखिमसँग सम्झौता गर्न बाध्य बनाइएको महसुस गरेका छन् ।

अध्यक्ष पोखरेलका अनुसार फोहोरबाट प्रत्यक्ष प्रभावित बस्तीका दुई हजारभन्दा बढी जनसङ्ख्याको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर उपमहानगरपालिकासँगको सहमतिमा निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । तर, स्वास्थ्य बिमा र अन्य प्रतिबद्धताले स्थानीयको मूल समस्या समाधान गर्न नसकेको उनको भनाइ छ ।

स्थानीयका लागि स्वास्थ्य बिमा आवश्यक भए पनि त्यसले फोहोरको दुर्गन्ध, धुवाँ, झिँगा र लामखुट्टेको समस्या हटाउँदैन । फोहोर व्यवस्थापनको सुरक्षित र दीर्घकालीन विकल्प खोजिनुपर्ने मुख्य माग भएता पनि आफ्ना मागप्रति उपमहानगरपालिका उदासीन बनेको उनीहरूले बताउँदै आएका छन् ।

फोहोरको दुर्गन्धले बस्ती र विद्यालय प्रभावित

मजुवामा थुपारिएको फोहोरको असर एउटा टोलमा मात्र सीमित छैन । स्थानीयका अनुसार मजुवा, प्रवेश नगर, ध्रुव नगर, दुर्गा नगर, भगवती टोल र शिवालय टोलका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।

उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन योजना नबनाउँदा एउटा ठाउँबाट अर्को ठाउँमा फोहोर सार्ने क्रम चलिरहेको स्थानीय अर्जुन गौतमले बताए । पहिले तिनाउ नदी किनारको हार्तिसुड क्षेत्रमा फोहोर फालिन्थ्यो । त्यसपछि लुम्बिनी वाणिज्य क्याम्पस पछाडि र अन्य विभिन्न स्थानमा फोहोर व्यवस्थापन गर्ने प्रयास गरियो । पछिल्ला वर्षमा भने मजुवालाई फोहोर विसर्जन गर्ने ठाउँ बनाइएको उनले बताए ।

गौतमका अनुसार नदी किनारमा फोहोर थुपार्ने र बेलाबेला जलाउने गर्दा बस्तीमा धुवाँ फैलिने गरेको छ । फोहोर जलाउँदा आँखा पिरो हुने र धुवाँले बस्ती नै ढाकिने समस्या रहेको उनको भनाइ छ ।

फोहोरको दुर्गन्धले स्थानीयको घर आँगन मात्र होइन, नजिकै रहेको सूर्योदय आधारभूत विद्यालयको वातावरणसमेत प्रभावित भएको स्थानीय बताउँछन् । विद्यालयमा साना बालबालिका अध्ययन गर्ने भएकाले दुर्गन्ध र प्रदूषणले उनीहरूको स्वास्थ्यमा पार्न सक्ने असरप्रति स्थानीय चिन्तित छन् ।

‘विद्यालय भनेको बालबालिकाले पढ्ने र सिक्ने ठाउँ हो । त्यहीँ दुर्गन्ध फैलिँदा उनीहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने चिन्ता छ,’ स्थानीयले गुनासो गरे ।

फोहोर फाल्न थालेयता सात जनाभन्दा बढी व्यक्तिलाई क्यान्सर भएको स्थानीय बताउँछन् । कमजोर फोहोर व्यवस्थापनका कारण बस्तीको जनस्वास्थ्यमा पार्न सक्ने सम्भावित असर बारे नगरपालिकाले बेवास्ता गरेको उनीहरूको भनाई छ ।

दैनिक ७५ टन फोहोर, विकल्पविहीन उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकामा जनसङ्ख्या वृद्धि र सहरीकरणसँगै फोहोरको मात्रा पनि बढ्दै गएको छ । उपमहानगरपालिकाका अनुसार बुटवलमा अहिले दैनिक करिब ७५ टन फोहोर उत्पादन हुन्छ । विभिन्न टोलबाट सङ्कलन गरिएको फोहोर व्यवस्थापन गर्नुपर्ने दायित्व नगरपालिकासँग भए पनि त्यसका लागि उपयुक्त दीर्घकालीन स्थानको टुङ्गो लाग्न सकेको छैन ।

बुटवल उपमहानगरपालिकाका प्रशासनिक अधिकृत दीपक ज्ञवाली संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्ने प्रक्रिया धेरै वर्षअघि सुरु गरिए पनि उपयुक्त जग्गा प्राप्त हुन नसकेको बताउँछन् ।

‘जनस्वास्थ्यका हिसाबले बस्तीको बिचमा फोहोर फाल्नु हुँदैन भन्ने कुरा स्पष्ट छ । तर, उठाइएको फोहोर कहाँ लगेर फाल्ने भन्ने समस्या पनि छ,’ ज्ञवाली भन्छन्, ‘संघीय सरकारले जग्गा उपलब्ध नगराएपछि उपयुक्त स्थान खोज्ने काममा कठिनाइ भएको छ ।’

उनका अनुसार फोहोर व्यवस्थापन गरिने क्षेत्रका विकास पूर्वाधार र स्वास्थ्यसम्बन्धी कार्यक्रममा नगरपालिकाले लगानी गर्दै आएको छ । मजुवा क्षेत्रमा पनि अन्य ठाउँको तुलनामा स्थानीय आवश्यकताअनुसार बढी कार्यक्रम सञ्चालन गरिएको उनको दाबी छ । चालु आर्थिक वर्षको बजेटमा समेत यससम्बन्धी कार्यक्रम समावेश गरिएको उनले बताए ।

तर, मजुवाबाहेक अन्यत्र फोहोर व्यवस्थापन गर्ने विकल्प अहिलेसम्म तयार नभएको ज्ञवाली स्वीकार गर्छन् । यही कारण अस्थायी व्यवस्थापनका लागि प्रयोग गरिएको मजुवा क्षेत्रको निर्भरता हट्न सकेको छैन ।

वैकल्पिक व्यवस्थापनको प्रयास पनि अनिर्णीत

बुटवल उपमहानगरपालिकाको सरसफाइ शाखाका प्रमुख योगेश चापागाईँका अनुसार फोहोर व्यवस्थापनका लागि सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र बुटवल उपमहानगरपालिकाबिच सहकार्य गर्ने विषयमा छलफल तथा सम्झौताको प्रयास भएको थियो । तर, उक्त प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन ।

‘जनस्वास्थ्य सबैभन्दा प्रमुख विषय हो । यस विषयमा उपमहानगरपालिका संवेदनशील छ,’ चापागाईँ भन्छन् ।

उपमहानगरपालिकाले वैकल्पिक स्थानको खोजी र अन्य स्थानीय तहसँगको सहकार्यलाई अघि बढाउन खोजेको बताए पनि त्यसले कहिले मूर्त रूप लिन्छ भन्ने स्पष्ट छैन । त्यसैले स्थानीयले तत्कालका लागि दुर्गन्ध र प्रदूषणको समस्या सहनुपर्ने अवस्था कायम छ ।

आश्वासन होइन, दीर्घकालीन समाधानको प्रतीक्षा

फोहोर व्यवस्थापन सहरी जीवनको अनिवार्य आवश्यकता हो । तर, यसको भार कुनै एक बस्तीका बासिन्दाले मात्रै वर्षौँसम्म बोकिरहनुपर्ने अवस्था न्यायोचित मान्न सकिँदैन । फोहोरको सुरक्षित व्यवस्थापन, स्थानीयको स्वास्थ्य सुरक्षा र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता मजुवाको अवस्थाले देखाएको छ ।

स्थानीयले फोहोर व्यवस्थापनको विरोध मात्रै गरेका छैनन्, बाढी नियन्त्रण, बस्तीको विकास र स्वास्थ्य सुरक्षाका विषयमा नगरपालिकासँग सहकार्य गर्ने प्रयाससमेत गरेका छन् । तर, सहमतिअनुसारका काम कार्यान्वयन नहुँदा स्थानीय सरकारप्रतिको विश्वास कमजोर हुँदै गएको उनीहरूको गुनासो छ ।

एकातिर दैनिक ७५ टन फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती छ, अर्कोतिर त्यही फोहोरको असर खेपिरहेका बस्तीका बासिन्दाको स्वास्थ्य र वातावरणको सवाल छ । उपमहानगरपालिकाले वैकल्पिक जग्गा खोजिरहेको र अन्य स्थानीय तहसँग सहकार्यको प्रयास गरिरहेको बताए पनि ठोस विकल्प नआएसम्म मजुवाको समस्या समाधान हुने देखिँदैन ।

स्थानीयका लागि अब अर्को आश्वासनभन्दा पनि समय सीमा तोकिएको कार्य योजना, सहमतिअनुसारका विकास निर्माणका काम र फोहोर व्यवस्थापनको भरपर्दो विकल्प आवश्यक रहेको स्थानीयको भनाई छ । अस्थायी भनिएको डम्पिङ साइटलाई दीर्घकालसम्म प्रयोग गर्न नहुने र स्थायी विकल्प सोच्नु पर्ने उनीहरू बताउँछन् ।