राजमार्गका १७ होटलको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ अति उत्तम

दियोपोस्ट संवाददाता

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा यात्रुवाहक सवारीसाधनका यात्रुलाई खाना तथा खाजा उपलब्ध गराउने १७ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन गरी स्तरीकरण गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनको संयुक्त टोलीले मंगलबार र बुधबार चितवनको रामनगर, जुगेडी, दासढुंगा र मुग्लिन क्षेत्रका होटल तथा रेस्टुरेन्टको निरीक्षण गरेको हो ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले खाना तथा खाजा खाने होटलमा सरसफाइको कमी, बासी तथा झिँगा भन्किएका खानेकुरा, न्यून गुणस्तरको खाना र अत्यधिक मूल्य लिने गरिएको भन्दै व्यापक जनगुनासो आएपछि अनुगमन गरिएको विभागले जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायबीच भएको छलफलपछि यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको सूचना कार्यान्वयन गर्ने क्रममा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरिएको हो ।

अनुगमनका क्रममा मुग्लिनस्थित ‘दाल भात पावर’ले तीन तारा प्राप्त गर्दै हरियो स्टिकरसहित ‘अति उत्तम’ वर्गमा परेको छ । त्यस्तै, भरतपुर महानगरपालिका-१, रामनगरस्थित होटल रार्स प्यालेस थकाली भान्छा घर तथा लजले दुई तारा प्राप्त गर्दै हरियो स्टिकरसहित ‘उत्तम’ वर्गमा स्थान पाएको छ ।

अनुगमन गरिएका अधिकांश होटल तथा रेस्टुरेन्ट भने न्यूनतम मापदण्ड पूरा गरी ‘सामान्य’ वर्गमा समेटिएका छन् ।

विभागले होटलको बाहिरी भाग वा प्रवेशद्वारमै देखिने गरी स्तरीकरणअनुसारको स्टिकर टाँस गरेको छ । यात्रुहरूलाई होटलमा प्रवेश गर्नुअघि स्टिकर हेरेर मात्र खाना तथा खाजा खान विभागले अनुरोध गरेको छ ।

विभागले अखाद्य वा गुणस्तरहीन खानेकुरा बिक्री गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्नसमेत यात्रुहरूलाई आग्रह गरेको छ ।