
काठमाडौँ । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार राति सबैला नगरपालिका–५ मखनाहामा सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२-०१ प ६४४९ नम्बरको मोटरसाइकललाई ना ६ ख ९०३१ नम्बरको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-७ का २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका-२ का २० वर्षीय राकेश मण्डल घाइते भएका छन् । घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।