‘गैर व्यावसायिक कामबारे म सोच्न पनि सक्दिन, किरण नेपालीसँग कुनै चिनजान नै छैन’ : एसएसपी वसन्त रजौरे

दियोपोस्ट संवाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका कार्यालय प्रमुख एसएसपी वसन्त रजौरेले आफू गैर व्यावसायिक क्रियाकलापका सम्बन्धमा सोच्न पनि नसक्ने भन्दै किरण नेपालीसँग जोडेर लेखेको समाचारमा आपत्ति जनाएका छन् । आफूले किरण नेपाली नाम गरेका व्यक्तिलाई नचिनेको र कुनै सम्बन्ध नभएको भन्दै समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

आइतबार दियोपोस्ट डटकमलाई खण्डन पठाउँदै एसएसपी रजौरेले आफू त्यस्तो गैर व्यावसायिक क्रियाकलापका सम्बन्धमा सोच्न पनि नसक्ने भन्दै समाचार भ्रामक, कपोलकल्पित र तथ्यहीन रहेको जिकिर गरेका छन् ।

शुक्रबार दियोपोस्ट डटकममा ‘१२ करोड डिल प्रकरण: ‘फरार अभियुक्त’ किरण नेपाली भिआइपी कक्ष हुँदै भारत, दुबई पुगेको प्रमाण’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा एसएसपी वसन्त रजौरेको नामसमेत मुछिएको थियो । रजौरेले भने आफूलाई कसैलाई भिआइपी कक्षको सुविधा नदिएको, कसैलाई कोट पाइन्ट नदिएको भन्दै आफूसँग समाचार लेख्ने बेलामा समेत नसोधिएको गुनासो गरेका हुन् ।

खण्डनमा एसएसपी रजौरेले समाचारमा उल्लेख गरिएका आरोपहरू भ्रामक, कपोलकल्पित तथा तथ्यहीन रहेको जिकिर गरेका छन् । खण्डनमा विमानस्थलबाट हुने सम्पूर्ण यात्रुहरूको प्रस्थान तथा आगमनसम्बन्धी विवरण सम्बन्धित निकायमा अभिलेखबद्ध रहने व्यवस्था रहेको अवस्थामा आवश्यक अभिलेख तथा आधिकारिक तथ्यहरूको यथोचित परीक्षण नगरी कसैको भनाइ वा अपुष्ट विवरणका आधारमा निष्कर्ष निकाल्नु उचित नहुने रजौरेले जिकिर लिएका छन् ।

समाचारमा कोट पायन्ट रेडी गरेर राखेको सम्बन्धमा उल्लेख भएको विवरण सोच्न पनि नसकिने कुरा भएको र अन्य निकायको क्षेत्राधिकारको सम्बन्धमा सोही निकायसँग जानकारी लिन समेत रजौरेले आग्रह गरेका छन् ।

रजौरेले विमानस्थलको सुरक्षा व्यवस्थापन, यात्रुको आवागमन तथा प्रस्थान र आगमनसम्बन्धी प्रक्रिया प्रचलित कानुन, निर्धारित कार्यविधि र सम्बन्धित निकायको जिम्मेवारीअनुसार सञ्चालन हुने विषय भएकाले सम्बन्धित तथ्य, आधिकारिक अभिलेख तथा विश्वसनीय प्रमाणबाट पुष्टि नभएका आरोपहरूलाई परीक्षणबिना प्रस्तुत गर्नु जिम्मेवार पत्रकारिताको विपरीतको कार्य रहेको आरोप लगाएका छन् ।

हेर्नुहोस्, रजौरेको खण्डन ।

सम्बन्धित खबर