
काठमाडौं । गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको मूल मर्म भ्रष्टाचार, आफन्तवादको अन्त्य गर्नु थियो । आफ्ना आफन्त, नातेदार र ठेकेदार तथा विचौलियाहरुले राज गरेको भन्दै आन्दोलन भएको थियो । तर, जेनजी आन्दोलनकै बलमा बनेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री गणेश पौडेलले स्वार्थको द्वन्द बाँझिने गरी एक व्यक्तिको नियुक्ती गरेको खुलेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा निगमकै ठेकेदारले बोर्ड सदस्यको नियुक्ती पाएका छन् । नेपाल वायुसेवा निगमको ठेक्का प्रक्रियामा सहभागी भई लाखाैँकाे व्यापारिक कारोबार गरेका कम्पनीका सञ्चालक नै निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन्। सार्वजनिक खरिद ऐन, सुशासन र पदीय मर्यादाका सामान्य सिद्धान्तसमेत बेवास्ता गर्दै भएको यो नियुक्तिले निगमभित्रको चरम स्वार्थको द्वन्द्वलाई छताछुल्ल पारेको छ।
निगमका आन्तरिक कागजात र आधिकारिक विवरणहरूले देखाएअनुसार, हाल नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा सदस्यका रूपमा नियुक्त भएका उपेन्द्रबहादुर कार्की यसअघि निगमसँग व्यापारिक ठेक्का लिएर कारोबार गर्ने फर्मका मुख्य सञ्चालक हुन्।
नेपाल वायुसेवा निगमको मानव संसाधन विभाग र साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागबाट प्राप्त पत्र तथा कागजातहरूले उपेन्द्रबहादुर कार्कीको व्यावसायिक संलग्नता स्पष्ट पार्छन्। मोरङको कानेपोखरी गाउँपालिका-३ (साविक बयरवन-०४) निवासी उपेन्द्रबहादुर कार्कीको नाममा दर्ता रहेको ‘साक्षात मल्टिपर्पोज कम्पनी प्राइभेट लिमिटेड’ (पुरानो बानेश्वर, काठमाडौं) मार्फत उनले निगममा व्यापारिक आपूर्ति गर्दै आएका थिए।

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व कार्यालयको रेकर्ड अनुसार २०७५ साल माघ ९ गते दर्ता भएको यस प्राइभेट लिमिटेडका सञ्चालक उपेन्द्रबहादुर कार्की हुन्। यस कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा निगमको अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने ‘८ औँसको कागजको कप’ आपूर्ति गर्ने ठेक्का प्राप्त गरेको थियो।
मिति २०७९/०७/०२ मा निगम र उक्त कम्पनीबीच भएको करारनामामा निगमको तर्फबाट तत्कालीन उप-निर्देशक प्रतिभा शर्मा र आपूर्तिकर्ताको तर्फबाट आपूर्तिकर्ताका सञ्चालक उपेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन्। ६८ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको उक्त ठेक्का सम्झौताअनुसार २०८० असार मसान्तसम्म उक्त कम्पनीले निगमलाई कागजी कपहरू आपूर्ति गरेको थियो। त्यति मात्र होइन, उक्त कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा पनि निगमको बोलपत्र प्रक्रियामा सहभागिता जनाएको निगमको खरिद शाखाको अभिलेखमा उल्लेख छ।

निगमसँग प्रत्यक्ष व्यापारिक ठेक्कापट्टामा संलग्न र व्यावसायिक स्वार्थ जोडिएका व्यक्ति कार्कीलाई हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय वा सिफारिसका आधारमा नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ। निगमको आधिकारिक जालस्थलमा समेत उनको नाम सञ्चालक समिति सदस्यका रूपमा सूचीकृत भई कार्य अनुभवसहितको विवरण राखिएको छ।
एकातर्फ निगममा सामान आपूर्ति गर्ने वा ठेक्का हत्याउने ठेकेदार हुनु र अर्कातर्फ त्यही निगमको नीतिगत निर्णय गर्ने, ठेक्का स्वीकृत गर्ने तथा समग्र व्यवस्थापन हेर्ने सर्वोच्च निकाय (सञ्चालक समिति) का सदस्य बन्नुले सुशासन र भ्रष्टाचार निवारणका सामान्य मान्यताबिच गम्भीर प्रश्न खडा गरेको छ।

प्रशासनिक तथा कानुनविद्हरूका अनुसार, हिजो निगमबाट आर्थिक लाभ लिएको र भोलिका दिनमा आफ्ना व्यावसायिक तथा व्यक्तिगत हित अनुकूल निर्णय गराउन सक्ने प्रभावकारी पदमा यस्ता व्यक्तिहरूको नियुक्ति हुनु सिधै ‘स्वार्थको द्वन्द्व’ को ज्वलन्त उदाहरण हो। राष्ट्रिय ध्वजाबाहक जस्तो संवेदनशील संस्थालाई व्यक्ति-केन्द्रित र स्वार्थको अखडा बनाउने यस किसिमका गतिविधिप्रति नियामक निकाय र अख्तियारको समेत ध्यान जान जरुरी देखिन्छ।
निगमका बोर्ड सचिवालयकी रिना राई भन्छिन्, बोर्डसदस्यसँग सम्पर्क गर्न मिल्दैन
प्रतिक्रियाका लागि निगमका सुचना अधिकारीको नम्बरमा सम्पर्क गर्दा बोर्ड सचिवालय सदस्य रिना राईसँग सम्पर्क गर्न भनियो । तर, राइलाई सम्पर्क गर्दा उनले बोर्डका सदस्यहरुसँग सम्पर्क गर्न र उनीहरुको मोबाइल नम्बर समेत दिन नमिल्ने बताइन् । बोर्ड सञ्चालकहरुलाई मोबाइल समेत उपलब्ध नगराइएको उनको भनाई छ ।
सम्बन्धित खबर भेटिएन।