
काठमाडौँ । साहित्यिक पत्रकार संघ (सापस)ले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा पाँचजना स्रष्टालाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट अभिनन्दन गरेको छ।
सम्मानित हुनेमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास तथा कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्त रहेका छन् । कार्यक्रममा उनीहरूलाई संघका अध्यक्ष राधेश्याम लेकाली र प्रमुख आमन्त्रित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति के।के। कर्माचार्यले दोसल्ला, ढाकाटोपी र फूलमाला लगाई अभिनन्दनपत्र प्रदान गरेका थिए ।
सो अवसरमा ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८२’ कवि दीपा राई पुनलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख आमन्त्रित कर्माचार्यले सापसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका स्रष्टाको पहिचान गरी सम्मान गर्ने परम्परा प्रशंसनीय रहेको बताए । उनले सम्मानित व्यक्तित्वहरूसँगका आफ्ना व्यक्तिगत सम्बन्ध र उनीहरूको सिर्जनात्मक योगदानको स्मरण गर्दै बधाई तथा शुभकामना दिए ।
संघका अध्यक्ष राधेश्याम लेकालीले सापसको स्थापना, गतिविधि र यात्राबारे प्रकाश पारे । वि.सं. २०२९ मा स्थापित संघले विभिन्न आरोह-अवरोह पार गर्दै साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर रचनात्मक गतिविधि गर्दै आएको उनले बताए । संस्थापक अध्यक्ष भवानी घिमिरेको योगदान स्मरण गर्दै लेकालीले संघले २०३८ सालदेखि कथा दिवस आयोजना गर्दै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रम सञ्चालन गरेको तथा हालसम्म थुप्रै स्रष्टालाई सम्मान र अभिनन्दन गरिसकेको जानकारी दिए। पछिल्लो समय स्रष्टाका कृतिलाई अडियोका रूपमा प्रस्तुत गर्ने कामसमेत अघि बढाइएको उनले बताए ।
समालोचक प्रमोद प्रधानले सम्मानित पाँचै स्रष्टाको योगदानबारे संक्षिप्त चर्चा गरे । उनले कवि ज्ञान उदास साहित्यकारसँगै पत्रकारका रूपमा समेत परिचित रहेको बताउँदै उनका आठवटा कृति प्रकाशित भइसकेको जानकारी दिए। साथै स्रष्टाका कृति प्रदर्शनी तथा अप्रकाशित रचनालाई प्रकाशनमा ल्याउनेतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे ।
चित्रकार प्रा. मदन चित्रकारका बारेमा प्रधानले उनलाई विरासतमा प्राप्त कलाप्रतिभा भएको बताए । प्रख्यात चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदन चित्रकारले २०३४ सालमा पहिलोपटक चित्रकला प्रदर्शनी गरेको उल्लेख गर्दै उनका चित्रमा धर्म, दर्शन, मन्त्र र श्लोकका विषयवस्तु तथा ज्यामितीय आकृतिको प्रयोग पाइने बताए । उनका कला सम्बन्धी विभिन्न पुस्तकसमेत प्रकाशित भएको प्रधानले जानकारी दिए ।
कलाकार चैत्यदेवी सिंहको योगदानबारे चर्चा गर्दै प्रधानले अभिनय, नृत्य, गीति नाटक तथा चलचित्रका क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको बताए । ‘कुमारी’ चलचित्रकी नायिकाका रूपमा परिचित सिंहले २०२२ सालमा ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गरेको तथा सोभियत संघबाट कलामा स्नातकोत्तर अध्ययन गरेको जानकारी दिए । उनी चलचित्रसम्बन्धी अध्ययन गर्ने प्रारम्भिक नेपाली कलाकारमध्ये एक रहेको पनि प्रधानले बताए ।
त्यस्तै, संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ इतिहास, पुरातत्त्व र संस्कृति अनुसन्धानमा समर्पित व्यक्तित्व भएको प्रधानले बताए । नेवारी संस्कृति र सम्पदाका विषयमा निरन्तर अनुसन्धान गर्दै आएका श्रेष्ठका विभिन्न कृतिको चर्चा गर्दै उनले अरूले कमै अध्ययन गरेका विषयमा समेत श्रेष्ठले काम गरेको उल्लेख गरे ।
कलाकार सन्तोष पन्तलाई अभिनयमा विविधता प्रस्तुत गर्ने कलाकारका रूपमा चित्रण गर्दै प्रधानले रेडियो नाटक, रंगमञ्च र टेलिशृंखलामा उनले छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
सम्मानित स्रष्टाहरूले आफूहरूको योगदानको मूल्यांकन गर्दै खोजी-खोजी सम्मान प्रदान गरेकोमा संघप्रति आभार व्यक्त गरे । सो क्रममा कवि ज्ञान उदासले आफ्ना दुई मुक्तकसमेत वाचन गरेका थिए ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ र इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा किरण खरेलको शब्द तथा चन्द्रराज शर्मा र शिवशंकरको संगीत रहेको तारादेवीको स्वरमा चर्चित गीत ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ गायिका सरिता शाहीले प्रस्तुत गरेकी थिइन् ।
अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रमको सञ्चालन साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गरेकी थिइन् भने संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् ।