
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत छापा मारेको स्रोतले जनाएको छ ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जबराका केही अन्य नातेदारको घरमा समेत विभागको टोली पुगेको स्रोतको दाबी छ । छापा मार्ने क्रममा जबरा निकटस्थ व्यक्तिका घरबाट महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ । यद्यपि विभागले छापाको औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन ।
यसअघि केही दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो । करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो ।
जबरामाथि पछिल्लो समय विभिन्न विषयमा अनुसन्धान र कानुनी निगरानी बढिरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले उनका तथा निकटस्थ व्यक्तिका घरमा छापा मारेको हो ।