
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू नयाँ ऐन तथा नियमावलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नैतिक जिम्मेवारीका आधारमा राजीनामा माग गरेका छन् ।
शुक्रबार प्रतिष्ठानको परिसरमा प्रदर्शन गर्दै कर्मचारीहरूले अध्यादेशमार्फत ल्याइएको ऐन तथा नियमावलीले संस्थाको स्वायत्तता, वैज्ञानिकहरूको अधिकार र अनुसन्धानको वातावरण कमजोर बनाउने आरोप लगाएका छन् । उनीहरूले आफ्ना सुझाव बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आन्दोलनरत कर्मचारीहरूले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्तिलाई पलायन गराउने कदम स्वीकार्य नहुने बताएका छन् ।
उनीहरूले अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न, मनोमानी निर्णय प्रक्रिया रोक्न र नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्न माग गरेका छन् । त्यस्तै, मन्त्रालय तथा मन्त्रीको दबाब र हस्तक्षेप रोक्नुपर्ने, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्नुपर्ने माग अघि सारेका छन् ।
कर्मचारीहरूले सक्षम नेतृत्व खुला प्रतिस्पर्धाबाट चयन गर्न, पुरानो ऐनअन्तर्गत नियुक्त कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न तथा धम्की र दबाबबाट मुक्त कार्य वातावरण बनाउनुपर्ने बताएका छन् । देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य पार्न नहुने भन्दै स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने उनीहरूको माग छ ।
नयाँ संरचना निर्माणमा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका प्रयोगशालालाई सबल बनाउन, अनुसन्धान बजेट बढाउन र संस्थाको स्वायत्तता सुनिश्चित गरी वैज्ञानिकहरूले निर्धक्क अनुसन्धान गर्न पाउने वातावरण बनाउनुपर्ने पनि उनीहरूले बताएका छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्ने मागसहित कर्मचारीहरूले ‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ भन्ने नारासहित १२ बुँदे माग अघि सारेका छन् । माग पूरा नभएसम्म विरोध जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।
