सात निर्माण कम्पनी कालोसूचीमा, एक वर्षदेखि ६ महिनासम्म प्रतिबन्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा सात निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार मंसिर १० गतेको निर्णयबाट ती कम्पनी तथा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको हो । उनीहरूलाई ६ महिनादेखि एक वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका निर्माण कम्पनी तथा आपूर्तिकर्ता
सूचनाअनुसार नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजना, बुटवल, रुपन्देहीको सिफारिसमा बीएमआर कन्स्ट्रक्सन, मालिकार्जुन-३, दार्चुला लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सानीभेरी गाउँपालिका तथा सम्बन्धित निकायको सिफारिसमा हेमन-निशान जेभी, कालिकोट, हेमन कन्स्ट्रक्सन प्रालि, काठमाडौँ महानगरपालिका-३२, काठमाडौँ र निशान निर्माण सेवा, कालिकोट लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नविता एण्ड लोप्चन कन्स्ट्रक्सन प्रालि, त्रियुगा नगरपालिका-१२, गाईघाट, उदयपुरलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यसैगरी, आर.यु.पी.एस.कन्स्ट्रक्सन प्रालि, दमक-५, झापा लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । बालाजी पेट्रोकेमिकल्स प्रालि, धनगढी उपमहानगरपालिका-६, कैलाली लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौंको सिफारिसमा श्री सिपेल-शैलुङ जेभी, सुनाकोठी-२६, ललितपुर, सिपेल (हैदराबाद, तेलंगाना, भारत) र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि., सुनाकोठी-८, ललितपुर लाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, श्री सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, हर्कपुर, ओखलढुंगाको सिफारिसमा जी.बी.मेटल क्राफ्ट इन्डस्ट्रिज एन्ड सप्लायर्स प्रा. लि., वीरगञ्ज, पर्सा लाई पनि दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

सम्बन्धित खबर

सिफारिस