भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आज काठमाडौँ ल्याइँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारतको कोलकाताबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज काठमाडौँ ल्याइँदै छ । (मंसिर ४)  गत शुक्रबार  पक्राउ परेका अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि काठमाडौँ  ल्याउन लागिएको हो ।

मलेसियन सरकारसँग भएको सम्झौताविपरीत नेपाली श्रमिकबाट रकम संकलन गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा नेपाली श्रमिकमाथि अवैध रूपमा रकम असुली गरिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनीबिरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने ठूलो संख्याका नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रियाका नाममा अतिरिक्त शुल्क असुलिएको आरोप छ । मलेसिया जाने श्रमिकबाट निर्धारित शुल्कबाहेक थप १०० मलेसियन रिंगिट असुल्ने गरिएको थियो । यसका लागि स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्थाहरूबीच सिन्डिकेट खडा गरिएको र करिब २९ वटा संस्थामार्फत अतिरिक्त रकम संकलन भएको अनुसन्धानमा खुलेको बताइएको छ ।

मलेसिया रोजगरीका नाममा करिब सात लाख श्रमिकबाट अतिरिक्त शुल्क असुलिएको र गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा सरकारी अधिकारीहरूको संलग्नता रहेको आरोप छ ।

यस प्रकरणमा सीआईबीले यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित मन्त्रालयका छ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

त्यसअघि नै मेडिकल व्यवसायी कैलाश खड्कासहित रवीन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।