
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको प्रकरणमा पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियन सरकारसँग भएको सम्झौताविपरीत नेपाली श्रमिकबाट रकम संकलन गरी ठगी गरेको प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई पक्राउ गरेको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा अर्यालविरुद्ध यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यस प्रकरणमा प्रहरीले यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रमसचिव विनोद केसीसहित १० जनालाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि मलेसिया जाने श्रमिकबाट अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप छ ।
सीआईबीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।
अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा श्रमिकबाट असुल गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको प्रहरीको आरोप छ ।