इलामको पशुपतिनगरबाट साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान तथा चौपाया बरामद

दियोपोस्ट संवाददाता

इलाम । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनादेखि मङ्सिर ९ गतेसम्मको अवधिमा अवैध रूपमा चोरी पैठारी तथा निकासी गरिएको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।

सो अवधिभर गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाभित्रका सात वटा छुट्टाछुट्टै स्थानहरूमा कारबाही गर्दै स्याउ, फर्सीको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमध्ये १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५ सय ७० किलो फर्सीको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।

उक्त सामानहरू सूर्योदय नगरपालिका अन्तर्गत मानेभञ्ज्याङ, चारमाइल तथा नाकापानी सीमा इलाका र खोला गोदाम क्षेत्रबाट बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसे सहितको संयुक्त टोलीले बरामद गरेको थियो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीले निरन्तर गस्ती, पट्रोल र निगरानी गर्दै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति डिएसपी शैलेन्द्र थापा हुन्, जो लामो समयदेखि सञ्चार समन्वयमा काम गर्दै आएका सशस्त्र प्रहरीका सह प्रवक्ता समेत हुन् । थापा गत वर्ष मात्रै सशस्त्र प्रहरीको २५औँ वार्षिकोत्सव, २०८२ अर्थात् रजत महोत्सवमा उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत भएका थिए । थापा २०७७ सालमा र २०८१ सालमा पनि आइजी एपीएफ कोमेन्डेसनबाट सम्मानित भएका थिए ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा गत वर्षको साउनदेखि सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरको गुल्मपति बनेर गएका हुन् ।