रेड बुल १३औँ कृति अवार्ड्स २०८३ का निर्णायकलाई ‘कृति कनेक्ट’ मार्फत अभिमुखीकरण

दियोपोस्ट संवाददाता

काठमाडौँ । रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विज्ञापन संघ (आन)ले अवार्डको मूल्यांकन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन ‘कृति कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा.डा. विजय केसी तथा वरिष्ठ निर्णायक रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया र आचारसंहिताबारे विस्तृत जानकारी गराएका थिए ।

यस वर्षको कृति अवार्ड्समा विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । साथै, संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने गरी बहुविधागत निर्णायक टोली गठन गरिएको छ ।

आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नेछन् ।

अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको जनाएको छ । निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको संघले स्पष्ट पारेको छ ।

यस वर्षको कृति अवार्ड्समा इनर्जी ड्रिंक रेड बुल मुख्य प्रायोजक रहेको छ । इन्फ्लुएन्सर व्यवस्थापन गर्ने डिजिटल प्लेटफर्म इनमार्कको इनएसोसिएसन, जीएमडब्ल्यू ओरा, कोका(कोला र यति इन्टरनेशनल कलेजले पावर्ड बाइ प्रायोजन गरेका छन् ।

अवार्डसम्बन्धी थप जानकारी आवश्यक परेमा आनको सचिवालयमा फोन नम्बर ०१-४७५०६३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।