उद्योग विभागद्वारा वरुण बेभरेज नेपाल सम्मानित

दियोपोस्ट संवाददाता

काठमाडौँ । पेप्सी उत्पादन गर्ने कम्पनी वरुण बेभरेज नेपाल प्रालि उद्योग विभागबाट सम्मानित भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त उद्योग विभागको भवन पुनर्निर्माण तथा मर्मतमा सहयोग पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।

बुधबार आयोजित १२औँ राष्ट्रिय उद्योग दिवसको मूल समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट अरविन्द ठाकुरलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

२०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको उद्योग विभागको भवन मर्मत तथा पुनर्निर्माणका लागि वरुण बेभरेजले निर्माण सामग्री र आर्थिक सहयोग उपलब्ध गराएको थियो । विभागका अनुसार कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत भवनको मर्मतसम्भार तथा भौतिक व्यवस्थापनमा सहयोग गरेको हो ।

सार्वजनिक सेवा प्रवाहलाई निरन्तरता दिन कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरिएको विभागले जनाएको छ ।

पेय पदार्थ उत्पादन तथा वितरणमा सक्रिय वरुण बेभरेज नेपालले स्वास्थ्य सेवा, शिक्षा, सामुदायिक विकास, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि गर्दै आएको छ ।

सम्बन्धित खबर

सिफारिस