
काठमाडौँ । कुमारी बैंक लिमिटेड सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित उक्त कार्यक्रममा कुमारी बैंकले यस वर्ष पनि दुई विधामा सम्मान प्राप्त गरेको हो ।
बैंक लगातार तीन वर्षदेखि यस सम्मानबाट पुरस्कृत हुँदै आएको छ । बैंकले यस वर्ष ‘एक्सलेन्स इन क्रस(बोर्डर बिजनेस’ र ‘एक्सलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस-प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मान प्राप्त गरेको हो ।
लगातार तीन वर्ष प्राप्त उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत बैंकले हासिल गरेको व्यावसायिक उत्कृष्टता प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा डिजिटल भुक्तानी प्रणालीले कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा बैंकले ग्राहकलाई सुरक्षित, सहज र नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिने सेवा तथा अन्तर्राष्ट्रिय कारोबार सुविधालाई थप प्रभावकारी बनाउने दिशामा बैंक सक्रिय रहेको जनाएको छ ।
स्थापनाकालदेखि बैंकिङ सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार थप उन्नत, सुरक्षित र विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।