मन्त्री न्यौपानेद्वारा महिला सांसदलाई अश्लिल सन्देश मार्फत यौन दुर्व्यवहार गरेको खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा शक्तिशाली मन्त्रालय सम्हालेका व्यक्ति नै यौन दुव्र्यवहार जस्तो गम्भिर फौजदारी मुद्दाको आरोपी रहेको पाइएको छ । त्यतिमात्रै होइन मन्त्री पदमै रहँदा उनले यौन दुव्र्यवहार तथा हिंसा जस्ता गम्भिर फौजदारी मुद्दालाई दबावमा मिलापत्र गराएको समेत खुलेको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास र स्वास्थ्यमन्त्री रहेका नन्दप्रसाद न्यौपानेमाथि गण्डकी प्रदेश सभा सदस्यमाथि यौन दुव्र्यवहार र हिंसा गरेको उजुरी भेटिएको छ । तर, त्यस्ता उजुरीलाई न्यौपानले दबावमा मिलापत्र गराएको खुलेको हो । ती प्रदेश सभा सदस्यले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा गरेको उजुरी गरेकी थिइन् ।
पीडित महिला फरक क्षमता भएकी प्रदेश सभा सदस्य हुन् । उनले २०८३ वैशाख ३ गते ब्युरोमा आफूमाथि मन्त्री न्यौपानेले यौन दुव्यवहार र हिंसा गरेको आरोप लगाउँदै आवश्यक अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।

साइबर ब्युरोमा दिइएको निवेदनमा ती महिला सांसदले मन्त्री न्यौपानेले सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप), एसएमएस र राति–राति फोन कलमार्फत यौन क्रियाकलापका संकेत गर्ने गरेको गम्भिर आरोप उल्लेख छ । निवेदकले संसद्भित्रै विभिन्न स्थानमा हुँदा समेत न्यौपानेले यौन आशयका सन्देश पठाउने र रातिको समयमा कल गरेर हैरानी दिने गरेको पनि निवेदनमा उल्लेख गरेकी छन् ।

निवेदनमा उनले निरन्तर भइरहेको गम्भीर यौन हिंसाको प्रयासका कारण आफू त्रासमा रहेको दाबी गरेकी छन् । साथै, संसदमा प्रस्तुत हुनका लागि समेत न्यौपानेले आफूसँग अनुचित शर्त राखेको गम्भीर आरोप पत्रमा उल्लेख गरिएको छ ।

पीडित भनिएकी ती सांसदले घटनाबारे प्रदेश सरकारलगायत सम्बन्धित पक्षलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको गुनासो गरेकी छन् । दोषीमाथि कारबाहीको माग गर्दै उनले यस विषयमा प्रधानमन्त्रीलाई समेत पत्र लेखेको निवेदनमा खुलाएकी छन् ।
तर, मन्त्री न्यौपानेले त्यो निवेदन शक्तिको आडमा फिर्ता गराएका थिए ।

मन्त्री न्यौपाने कांग्रेस गोरखाका सभापतिसमेत हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, तथा कांग्रेसका नेताहरूलाई लगाएर गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा पीडित ति महिला सांसद र मन्त्री न्यौपानेबीच मिलापत्र गराइएको स्रोतले बतायो ।

मिलापत्र भएपछि ती सांसद्लाई दबाबमा व्यूरोमा दिइएको उजुरी फिर्ता लिन लगाइएको थियो ।

मेरो चरित्र हत्या गर्ने नियोजित प्रयासप्रति गम्भीर आपत्ति ः न्यौपाने
पछिल्लो समय मसँग जोडेर केही सञ्चारमाध्यममा प्रकाशित दुव्र्यवहार तथा हिंसासम्बन्धी समाचार पूर्णतः झुटो, भ्रामक र कपोलकल्पित छन्। समाचारमा उल्लेख गरिएजस्तो कुनै घटना भएको छैन। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेको र राजनीतिक दबाबमा मिलापत्र गराइएको भन्ने दाबीसमेत सत्य होइन।
मेरो लामो राजनीतिक जीवन, सामाजिक प्रतिष्ठा र व्यक्तिगत तथा पारिवारिक जीवनमाथि प्रहार गर्ने उद्देश्यले केही व्यक्तिहरू योजनाबद्ध रूपमा यस्ता भ्रमपूर्ण सामग्री तयार गरी बारम्बार चरित्र हत्या गर्न लागिपरेका छन्।
म आम साथीभाइ, शुभचिन्तक तथा सम्पूर्ण नागरिकलाई स्पष्ट पार्न चाहन्छु ः ममाथि लगाइएका यी आरोपहरू पूर्णतः झुटा हुन्। यस प्रकारका भ्रमपूर्ण प्रचार र चरित्र हत्याका प्रयासविरुद्ध म कानुनी उपचारमा छु । सत्य र न्यायका लागि कानुनी लडाइँ जारी राख्नेछु।
मलाई विश्वास छ, क्षणिक भ्रम र प्रायोजित प्रचारभन्दा सत्य बलियो हुन्छ। धैर्य राखौँ, सत्यको पक्षमा उभिऔँ।
धन्यवाद। जय नेपाल ।
नन्दप्रसाद न्यौपाने
मन्त्री, गण्डकी प्रदेश
सभापति नेपाली कांग्रेस, गोरखा

 

सम्बन्धित खबर

सिफारिस