
तस्बिर: प्रशान्त पन्जियार
‘अयोध्या’ नाम गरेको पुस्तकको चर्चा सुन्नेबित्तिकै हाम्रा कान ठाडा हुन्छन्। तर, यस पटक भने हामी ढुक्क हुन सक्छौँ। यहाँ न कुनै षड्यन्त्रको सिद्धान्त छ, न त तरबार उज्याएर आमनेसामने उभिएका विरोधी पक्षहरू नै छन्। वरिष्ठ समाचार फोटोग्राफर प्रशान्त पन्जियारको नयाँ पुस्तक अयोध्या सहरको एउटा जीवनी हो; त्यही सहर, जहाँबाट देशको सत्ता कब्जा गर्ने हिन्दू राष्ट्रवादीहरूको लडाइँ सुरु भएको थियो र सफल पनि भयो। तीन दशक लगाएर खिचिएका यी तस्बिरहरू समेटिएको यस पुस्तकको उद्देश्य सायद एउटा सामान्य, शान्त सहरको निश्छलतालाई देखाउनु हो; जहाँ विभिन्न शक्तिहरूले मस्जिदमाथि दाबी गर्न, त्यसलाई भत्काउन र त्यसको ठाउँमा मन्दिर स्थापना गर्न वर्षौँसम्म लडाइँ लडिरहे।

दुर्भाग्यवश, यी पन्जियारका उत्कृष्ट तस्बिरहरू भने होइनन्; विशेष गरी गत वर्ष मात्रै ‘द्याट ह्विच इज अनसिन’ मार्फत उनले आफ्नो सर्वोत्कृष्ट काम सार्वजनिक गरिसकेका छन्। सहर बन्ने स्वाङ पारिरहेको यस निद्रालु गाउँका प्रायः सबै तस्बिरहरूमा चिजबिजहरू जीर्ण देखिन्छन्; बाटोमा हिँडिरहेका मानिसहरू लक्ष्यहीन र एक्ला देखिन्छन्, मानौँ उनीहरूको जीवनको कुनै निश्चित उद्देश्य नै छैन। भत्किन बाँकी रहेका स्मारकहरूलाई पनि विशाल वरका जराहरूले निलिसकेका छन्; जस्तो कि अयोध्याकै सबैभन्दा पूज्य स्थलमध्ये एक ‘दरगाह सरिफ हजरत सैयदा बडी बुआ’को प्राङ्गणमा रहेको समाधिस्थल हो।
तस्बिरहरूले के देखाउने प्रयास गरेका छन् भने, एकादेशमा अयोध्या एउटा शान्त ठाउँ थियो, जहाँ हिन्दू र मुस्लिमहरू आउन लागेको कुनै पनि आँधीबेहरीबाट बेखबर भएर मिलेर बस्थे, तर पछि त्यो सद्भाव छिन्नभिन्न पारियो।
तस्बिरहरूले के देखाउने प्रयास गरेका छन् भने, एकादेशमा अयोध्या एउटा शान्त ठाउँ थियो, जहाँ हिन्दू र मुस्लिमहरू आउन लागेको कुनै पनि आँधीबेहरीबाट बेखबर भएर मिलेर बस्थे, तर पछि त्यो सद्भाव छिन्नभिन्न पारियो। प्रतीक्षा गरिरहेको अयोध्यामा एक किसिमको उजाडपन र विनाशको आभास छ; मानौँ केही शक्तिहरूका लागि आफ्नो अडान सिद्ध गर्ने, इतिहास पुनर्लेखन गर्ने, विद्यमान भाष्य बदल्ने अनि त्यस ठाउँको एउटा नयाँ कल्पना, नयाँ मिथक र नयाँ कथा रच्ने थलो बन्नु नै आफ्नो नियति हो भनेर उसले स्वीकार गरिसकेको छ।
जबकि, यहाँको कण-कणमा भगवान् राम र सीता व्याप्त छन्। मन्दिरभित्र, उनीहरूकै नाममा नामाकरण गरिएका पर्खालहरूमा, अनि उनीहरूकै नाम कुँदिएका इँटाहरूमा पनि। ‘वाल्मीकि रामायण भवन’को भित्तामा रामायण कुँदिएको छ, ‘हनुमान गढी’ मन्दिरको भित्तामा वाल्मीकि रामायणका श्लोकहरू लेखिएका छन्; मानौँ ईश्वरीय उपस्थितिको निरन्तर सम्झना दिलाइरहनु अनिवार्य छ। कतै रावणको भेषमा सजिएका कलाकार छन् त कतै सीताको रूप धारण गरेका बालक। गुरुको अगाडि पाठ दोहोर्याइरहेका साना बटुकहरू पनि छन्। यी सबथोक हुँदाहुँदै अयोध्या त कैयौँ गुणा आशिर्वाद पाएको सहर हुनुपर्ने हो। तर, त्यहाँका कतिपय बासिन्दाहरू आफैँ भन्छन्- ‘उनीहरू श्रापित जीवन बाँचिरहेका छन्।’
स्वर्गमा जस्तो न यहाँ आशाका फूलहरू फुलिरहेका छन्, न त फलहरू नै लटरम्म झुलेका छन्। पुस्तकमा समेटिएको निबन्धमा एक युवकलाई उद्धृत गर्दै लेखिएको छ: ‘उनको परिवारले मन्दिर आन्दोलनलाई समर्थन गरेको थियो। तर, जब त्यहाँ चम्किलो नयाँ मन्दिर ठडियो, मन्दिरसम्म पुग्ने चम्किलो नयाँ बाटो बनाउनका लागि उनीहरूका सबै घरहरू भत्काइयो।’

तस्बिरहरू व्यङ्ग्य र विषादले भरिएका छन्, त्यसैले पुस्तकका अधिकांश तस्बिरहरू श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) छन्। पुस्तकको अन्तिम खण्डमा रहेका रङ्गीन तस्बिरहरूले भने सहरलाई छपक्कै छोपेका भड्किला कला र वास्तुकला देखाउँछन्; जसलाई निबन्धको शीर्षकले भनेझैँ “आस्था र राजनीतिको टकराव” भन्न सकिन्छ।
उजाडपन र निराशा झल्काउने तस्बिरहरू नै प्रायः हाम्रो स्मृतिमा लामो समयसम्म बसिरहन्छन्। यस्तै एउटा तस्बिर भत्किन लागेको हवेलीजस्तो घरको छ, जहाँ वरपर व्याप्त निराशाबाट बिल्कुलै बेखबर एउटा केटो खाटमा पल्टिएर माउथ अर्गन बजाइरहेको छ।
उसले कस्तो धुन बजाइरहेको छ, हामीलाई थाहा छैन। तर हामीलाई यति चाहिँ थाहा छ; अयोध्या सहरका लागि मुक्तिको सङ्गीत अझै निकै टाढा छ।

विनु के. जोन एक लेखक हुन्। हालै उनको ‘अल इन अ फ्ल्यास: न्युज फोटोग्राफी इन इन्डिया’ पुस्तक प्रकाशित भएको छ।
[यस लेख द वायरबाट राजु झल्लु प्रसादले अनुवाद गरेका हुन्।]