अयोध्याबाट आएको ‘सरयू-कमला एक्सप्रेस’ रेल जनकपुर आइपुग्यो, जनकपुरधाममा भव्य स्वागत

दियोपोस्ट संवाददाता

जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि सञ्चालन गरिएको सरयू-कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने उद्देश्यले सुरु गरिएको उक्त रेल सेवाको पहिलो यात्रालाई जनकपुरधाममा विशेष उत्साहका साथ स्वागत गरिएको छ ।

रेल जनकपुरधाम आइपुग्दा सरकारी प्रतिनिधि, स्थानीय सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका थिए । स्वागतका लागि उपस्थित व्यक्तिहरूले रेलमा सवार तीर्थयात्रीहरूलाई फूलमाला लगाएर सम्मानसमेत गरेका थिए ।

अयोध्याबाट प्रस्थान गरेको रेलमा करिब एक हजारदेखि ११०० जनासम्म तीर्थयात्री, साधुसन्त, सरकारी अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरू रहेका छन् । १७ डिब्बा रहेको उक्त रेललाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर शुभारम्भ गरेका थिए ।

रेललाई अयोध्याबाट बिदाइ गर्ने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए ।

जनकपुरधाममा तीर्थयात्रीको स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीलगायतको सहभागिताको तयारी गरिएको थियो । त्यस्तै, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दाससहित स्थानीय साधुसन्त तथा सर्वसाधारण पनि स्वागत कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघको समन्वयमा स्वागत तथा आतिथ्य व्यवस्थापन गरिएको थियो । तीर्थयात्रीलाई जानकी मन्दिरमा दर्शन तथा पूजाआजा गराउने, जनकपुरधामका धार्मिक स्थलको भ्रमण गराउने र खाजाको व्यवस्था गर्ने कार्यक्रमसमेत तय गरिएको थियो ।

अयोध्यादेखि जनकपुरधामसम्मको रेलमार्गको दूरी करिब ६०४ किलोमिटर रहेको छ । रेलले भारतको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै यात्रा गर्नेछ । नियमित सेवाको समयतालिकाअनुसार यो दूरी पार गर्न करिब १९ घण्टा लाग्नेछ ।

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको सरयू-कमला एक्सप्रेसले भगवान् श्रीरामको जन्मभूमि अयोध्या र माता जानकीको जन्मभूमि जनकपुरधामलाई प्रत्यक्ष रेलमार्गबाट जोडेको छ । यसले दुवै देशका तीर्थयात्री तथा धार्मिक पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस