नेपाल-भारतबीच काठमाडौँ-भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल र भारतबीच काठमाडौँ-भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा बी-३४५ एयर रुट अर्थात् काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।

सोमबार उच्चस्तरीय वार्तापछि दुवै देशले जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा उक्त सहमति समेटिएको छ ।

संयुक्त वक्तव्यमा दुवै देशका शीर्ष नेताले आपसी सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले नागरिक उड्डयन क्षेत्रका विषयमा भइरहेका निरन्तर छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ ।

हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक कार्यविधि र ढाँचालाई अन्तिम रूप दिन दुवै देशबीच छिट्टै प्राविधिक परामर्श हुने भएको छ । उक्त परामर्शमार्फत नागरिक उड्डयन क्षेत्रका अन्य प्रस्तावहरूबारे पनि छलफल गरी टुंगो लगाउने सहमति भएको छ ।

सम्बन्धित खबर

सिफारिस