
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखामा कार्यरत दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीको सामान विदेश पठाउने क्रममा घुस लिएको अभियोगमा भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार दुवै कर्मचारीले कुरियर कम्पनीमार्फत विदेश पठाउन लागिएको सामानको भन्सार प्रक्रिया पूरा गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेका थिए । सामान पठाउने प्रक्रियामा अनावश्यक झन्झट सिर्जना गर्ने र विभिन्न कारण देखाएर बार्गेनिङ गर्दै उनीहरूले रकम मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
घुस मागिएको सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गर्दा दुवै कर्मचारीलाई ९ हजार ५०० रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार उक्त रकम लिएको पुष्टि भएको आयोगको दाबी छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा राष्ट्रसेवकले आफ्नो पद वा जिम्मेवारीसँग सम्बन्धित काम गरिदिएबापत वा नगरेबापत घुस लिएमा सजाय हुने व्यवस्था छ । घुसको रकमअनुसार कैद र बिगो बराबर जरिवाना हुने कानुनी प्रावधान छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै कर्मचारीले पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो । आयोगले उनीहरूविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गर्दै बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गरेको छ।