
काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथ मन्दिरको चन्दन उपहार दिएका छन् ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष कलात्मक बाकसमा राखेर रुद्राक्षको माला मोदीलाई हस्तान्तरण गरेका हुन् । उनले पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन पनि उपहारस्वरूप प्रदान गरेका थिए ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल उपहार दिएका छन् । दुई देशका प्रधानमन्त्रीबीच उपहार आदानप्रदानपछि द्विपक्षीय वार्ता सुरु भएको थियो ।
प्रधानमन्त्री शाहले दिएको उपहारमा नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान झल्किएको छ । रुद्राक्षलाई हिन्दू धर्ममा भगवान् शिवसँग जोडिएको पवित्र वस्तुका रूपमा लिइन्छ । पशुपतिनाथ मन्दिर भगवान् शिवको प्रमुख तीर्थस्थलमध्ये एक हो । त्यसैले पशुपतिनाथको चन्दन र रुद्राक्षको उपहारलाई धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ ।
त्यस्तै, गंगाजल हिन्दू धर्मावलम्बीका लागि पवित्र जल मानिन्छ । धार्मिक अनुष्ठान, पूजा तथा संस्कारमा यसको प्रयोग गरिन्छ । मोदीले गंगाजल उपहार दिनुलाई पनि दुई देशबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडेर हेर्न सकिन्छ ।
प्रधानमन्त्री शाहको यो भारत भ्रमण पदभार ग्रहण गरेपछिको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाहसँगै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा छ ।
भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भइरहेको छ । विशेषगरी व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, लगानी तथा सीमापार सम्पर्क सञ्जाल विस्तार वार्ताका प्रमुख विषय छन् । बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भारतीय सहयोग र जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार पनि छलफलको महत्वपूर्ण विषयका रूपमा रहेको छ ।
भ्रमणका क्रममा दुवै देशबीच विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने र केही विकास आयोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम छ ।