
काठमाडौँ । भारतको राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट गर्ने समय नदिइएको भन्दै भारतस्थित चार नेपाली संगठनले असन्तुष्टि जनाएका छन् । भारतस्थित नेपालीहरूका साझा समस्या प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरे पनि प्रधानमन्त्रीको कार्यालय तथा नेपाली राजदूतावासले भेटका लागि समय उपलब्ध नगराइएको भन्दै ति संगठनले विरोध जनाएका हुन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, नेपाली समाज भारतका केन्द्रीय सहसंयोजक आरबी खड्का, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य जीवन शर्मा भुसाल र नेपाली जनसम्पर्क समिति भारतकी केन्द्रीय सदस्य नन्दी कुमारी न्यौपानेले संयुक्त विज्ञप्ती जारी गरि बिरोध व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी भारतस्थित नेपालीहरूका साझा समस्या र सरोकारका विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको भएपनि प्रधानमन्त्रीको कार्यालय र नेपाली राजदूतावास, नयाँदिल्लीले समय उपलब्ध नगराएको विज्ञप्तीमा उल्लेख छ ।
भारतस्थित नेपालीहरूका चार संगठनले प्रधानमन्त्रीसँग भेटका लागि समय माग गर्दै ज्ञापनपत्रसमेत तयार पारेका थिए । तर प्रधानमन्त्रीको कार्यालय तथा नेपाली राजदूतावासले भेटका लागि समय उपलब्ध नगराएपछि उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गरेो बताएका छन् ।
प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न तयार पारिएको ज्ञापनपत्र सार्वजनिक गर्दै उनीहरूले भारतमा रहेका नेपालीहरूले लामो समयदेखि भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
ज्ञापनपत्रमा भारतस्थित नेपालीहरूको पहिचान, आधारकार्ड प्राप्तिमा देखिएका कठिनाइ, दोहोरो नागरिकताको आशंकामा हुने गिरफ्तारी तथा कानुनी झन्झट, शिक्षा र स्वास्थ्य उपचारमा हुने अतिरिक्त शुल्क, रोजगारीमा विभेद तथा यात्रा गर्दा हुने लुटपाट र प्रशासनिक दुर्व्यवहारलगायतका विषय उठाइएको छ ।
चार संगठनले भारतमा रहेका नेपालीहरूका लागि सहज रूपमा आधारकार्ड प्राप्त गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । आधारकार्डको अभावमा बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र लिन, बालबालिकालाई विद्यालय भर्ना गर्न, अस्पतालमा उपचार गराउन तथा रोजगारीबाट अवकाशपछि प्राप्त हुने सञ्चय कोष र पेन्सनलगायतका सुविधामा समस्या भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै, भारतमा नेपालीहरूले दैनिक जीवनका सुविधाका लागि बनाएका कतिपय कागजातलाई दोहोरो नागरिकताको संकेतका रूपमा व्याख्या गरी पक्राउ गर्ने तथा मुद्दा चलाउने घटनाप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता घटनामा परेका नेपालीलाई न्याय दिलाउन र समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक संवाद गर्नुपर्ने उनीहरूको माग छ ।
भारतमा अध्ययन तथा उपचारका लागि आउने नेपालीहरूबाट कतिपय शैक्षिक संस्था र अस्पतालले विदेशी नागरिकसरह अतिरिक्त शुल्क लिने गरेको तथा अध्ययनपछि रोजगारीमा समेत विभेद हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ । नेपाली विद्यार्थीबाट माग गरिने पात्रता प्रमाणपत्र (एलिजिबिलिटी सर्टिफिकेट)को व्यवस्थाले पनि समस्या सिर्जना गरेको भन्दै त्यसको समाधानका लागि पहल गर्न माग गरिएको छ ।
यसैगरी, भारतमा बस तथा रेल यात्राका क्रममा र सीमा नाकामा नेपालीहरू लुटपाट तथा प्रशासनिक दुर्व्यवहारको सिकार हुने गरेका घटनालाई रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा प्रवासी नेपालीहरूको आर्थिक योगदानको चर्चा गर्दै उनीहरूलाई मतदानको अधिकार र समानुपातिक प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको छ । विदेशमा रहेका नेपालीहरूको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको संगठनहरूको भनाइ छ ।
यसका अतिरिक्त, नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीतिको पालना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय हितविपरीत कुनै पनि सन्धि, सम्झौता वा सहमति नगर्न सरकारलाई सचेत गराइएको छ ।
चार संगठनले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली तथा संविधानप्रदत्त मौलिक हक अधिकारको संरक्षण गर्न पनि सरकारसँग माग गरेका छन् । शिक्षक तथा कर्मचारीका पेसागत संगठन, ट्रेड युनियन र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन खारेजी तथा पत्रकारमाथिका आक्रमणलगायतका घटनाले सरकार अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आशंका पैदा गरेको उनीहरूको आरोप छ ।
संगठनहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी यी विषयमा ध्यानाकर्षण गराउने अवसर नपाएपछि ज्ञापनपत्रलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गर्दै नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएका छन् ।


