दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’को सम्मान दिइँदै, के हो गार्ड अफ अनर?

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नयाँदिल्लीमा गार्ड अफ अनर प्रदान गरिने भएको छ । कुनै देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई राजकीय भ्रमणका क्रममा दिइने यो विशेष सैनिक सम्मान हो ।

गार्ड अफ अनर केवल सैनिक सलामी मात्र नभई दुई देशबीचको पारस्परिक सम्मान, कूटनीतिक सम्बन्ध र औपचारिक आतिथ्यको प्रतीकसमेत मानिन्छ ।

गार्ड अफ अनर कुनै विशिष्ट व्यक्ति, राष्ट्रप्रमुख, सरकार प्रमुख वा उच्चपदस्थ पाहुनाको सम्मानमा सैनिक टुकडीले प्रस्तुत गर्ने औपचारिक सम्मान हो । यस क्रममा निर्धारित पोसाकमा सजिएका सैनिकहरू निश्चित अनुशासन र सैनिक मर्यादाअनुसार पंक्तिबद्ध हुन्छन् । सम्बन्धित व्यक्तिको आगमनमा सैनिक कमान्डरले आदेश दिन्छन् र सैनिकहरूले हतियारसहित निर्धारित विधिअनुसार सलामी अर्पण गर्छन् ।

यो सम्मान सामान्यतः राजकीय भ्रमण, राष्ट्रिय समारोह, औपचारिक स्वागत तथा विशेष राष्ट्रिय अवसरमा प्रदान गरिन्छ । भारतले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर दिन लागेको मुख्य कारण उनी नेपालको सरकार प्रमुखका रूपमा भारतको औपचारिक भ्रमणमा रहनु हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार दुईदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय भारत भ्रमण हो ।

 

सम्बन्धित खबर

सिफारिस