प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन : मोदीसँग भेटदेखि अयोध्या-जनकपुर रेल सेवा शुभारम्भसम्म

दियोपोस्ट संवाददाता

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन सोमबार उच्चस्तरीय भेटवार्तादेखि विभिन्न सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । सोमबार प्रधानमन्त्री शाह र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट हुनुका साथै विभिन्न विकास परियोजनाको उद्घाटन गर्ने कार्य तालिका तय भएको हो ।

सार्वजनिक भएको कार्य तालिकाअनुसार प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसलगत्तै बिहान १०ः४० बजे उनी राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् ।

भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे ‘हैदराबाद हाउस’ मा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त भेटवार्तापछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबिच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ ।

त्यसपछि दिउँसो १२ः२५ बजे ‘हैदराबाद हाउस’ मै समझदारीपत्र (एमओयू) हरूको आदानप्रदान गरी संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन गरिनेछ, जसमा अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ, पुलिस एकेडेमी तथा एकीकृत जाँच चौकीलगायत परियोजनाको संयुक्त उद्घाटन हुनेछ । अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने पनि तयारी गरिएको छ ।

दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । त्यसपछि दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

दिनभरका महत्त्वपूर्ण औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फिर्ताका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६ः३५ बजे काठमाडौं ओर्लने कार्य तालिका रहेको छ ।

यसअघि आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग ताज होटेलमै भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन् ।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबिचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, विकास साझेदारी तथा विभिन्न साझा चासोका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

सिफारिस