
नयाँ दिल्ली/काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भ्रमणलाई भारतीय सञ्चारमाध्यमले दुई देशबीचको सम्बन्ध “पुनः लयमा फर्किएको” क्षणका रूपमा हेरेका छन्। द इन्डियन एक्सप्रेसले आइतबार प्रकाशित विश्लेषणमा भ्रमणसम्मको घटनाक्रम केलाएको छ।
एक्सप्रेसका अनुसार मार्चमा सत्ता सम्हालेलगत्तै शाहले आन्तरिक सुशासनमा जोड दिए। उनले विदेश भ्रमणमा रोक लगाएको र राष्ट्रप्रमुख वा सरकारप्रमुखबाहेकका विदेशी अधिकारीसँग भेट नगर्ने निर्देशन दिएको पत्रिकाले उल्लेख गरेको छ। पत्रिकाका अनुसार दिल्ली उनका शब्द र कदमलाई नजिकबाट नियालिरहेको थियो। नेपालका परम्परागत नेतालाई भारतसामु झुक्ने भन्दै “लम्पसारवादी” भनिने गरिएकाले शाह आफूलाई त्यो धारभन्दा फरक देखाउन चाहन्थे भन्ने पत्रिकाको व्याख्या छ।
पत्रिकाले यही नीतिका उदाहरण दिएको छ। अप्रिलको अन्त्य र मेको सुरुमा काठमाडौं आएका अमेरिकी राजदूत सर्जियो गोरसँग भेट भएन। मेमा भारतीय विदेश सचिव विक्रम मिस्रीको प्रस्तावित भ्रमण पनि प्रधानमन्त्री कार्यालयले समय नदिएपछि हुन सकेन। जुनको सुरुमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली पुगेको घटनालाई एक्सप्रेसले सम्बन्ध सुधार्ने प्रयासका रूपमा चित्रण गरेको छ।
एक्सप्रेसका अनुसार इरान युद्धले इन्धन र मलको आपूर्ति र मूल्यमा पारेको असरले नेपालमा आर्थिक दबाब बढायो। भारतसँग संवाद नगर्ने सरकारी शैलीको आन्तरिक आलोचना पनि बढ्यो।
पत्रिकाले अगस्ट १० लाई मोडबिन्दु मानेको छ। त्यस दिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शाहलाई मैथिली चित्र उपहार दिँदै भेटेको र त्यो उनी प्रधानमन्त्री भएपछिको पहिलो एकल भेट भएको उल्लेख छ। पत्रिकाले यसलाई शाह भारतसँग संवादका लागि तयार भएको सङ्केतका रूपमा लिएको छ।
अगस्ट १८ मा भारतीय सेनाध्यक्ष जनरल धीरज सेठले चार दिने भ्रमणका क्रममा शाहसँग भेटेको र दुवै भेटमा भारत भ्रमणको निमन्त्रणा दोहोर्याइएको एक्सप्रेसले लेखेको छ। त्यसपछि प्रधानमन्त्री कार्यालयले छठपछि भारत आउने सङ्केत दिएको पत्रिकाको दाबी छ।
एक्सप्रेसका अनुसार अगस्ट २६ को बाढीमा ७,५०० भन्दा बढीको ज्यान गयो र करिब ९,००० घाइते भए। पत्रिकाले भारतले हवाईमार्गबाट राहत सामग्री, चिकित्सक र उद्धार टोली पठाएको र भारतीय सेनाले पुल तथा उपकरण दिएको लेखेको छ। त्यसको केही हप्तापछि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा शाहको भ्रमण पक्का भएको जानकारी दिएको पनि उसले उल्लेख गरेको छ।
भ्रमणमा आर्थिक सहायता, व्यापार, सम्पर्क सञ्जाल, नवप्रवर्तन, खेलकुद, उड्डयन र सांस्कृतिक सम्बन्ध एजेन्डामा रहने एक्सप्रेसले जनाएको छ।
सम्बन्ध सुध्रिनुको श्रेय पत्रिकाले भारतको “शान्त कूटनीति”लाई दिएको छ। नाम नखुलाएका एक स्रोतले यसलाई माल्दिभ्सका राष्ट्रपति मुइज्जुसँगको भारतको अनुभवसँग तुलना गरेको र शाहलाई निर्णय लिने पर्याप्त राजनीतिक स्थान दिइएको बताएको एक्सप्रेसले लेखेको छ। पत्रिकाअनुसार शाहले आफूलाई “भारतपक्षीय” वा “चीनपक्षीय” नभई “नेपालपक्षीय” भनेका छन्।