
नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा विशेष स्वागत तयारी गरिएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न सडक, चोक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन् ।
भारतीय पक्षले स्वागतसँगै सुरक्षा व्यवस्था, कूटनीतिक समन्वय र भ्रमणका कार्यक्रम व्यवस्थापनलाई प्राथमिकता दिएको छ । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण गर्ने कार्यक्रम छ । उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नेछन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट ३४ सदस्यीय आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि गर्न लागेको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो ।



