
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-६ स्थित बरहथवा नगर अस्पतालमा तोडफोड भएको छ । बरहथवा-५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राती उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका-५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका-९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन् ।
अस्पतालमा तोडफोड तथा आगजनी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पताल स्रोतले जनाएको छ ।
बरहथवा नगरपालिका-५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राती उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई सुत्केरी गराउनका लागि तीन दिनदेखि अस्पतालमा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ ।
अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक विवरण छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिका रहे-नरहेको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि बरहथवा नगर अस्पतालको सञ्चालन तथा व्यवस्थापनको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । २०८० पुसमा अस्पताललाई स्थानीय तहअन्तर्गत राख्ने वा मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्यामा स्तरोन्नति गर्ने भन्ने विषयमा विवाद चर्किँदा बरहथवामा आन्दोलन, झडप र आगजनीका घटना भएका थिए । उक्त घटनामा जयशंकर साहको मृत्यु भएको थियो । पछि स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ११ बुँदे सहमति भएको थियो ।
अस्पतालमा भएको पछिल्लो तोडफोड तथा आगजनीको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।