काठमाडौंमा आजदेखि जलवायु कार्य सप्ताह, १० बालबालिकालाई ‘जलवायु परिवर्तन सद्भावनादूत’ बनाइने

दियोपोस्ट संवाददाता

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आजदेखि सुरु गरेको छ। स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन र अनुकूलनका प्रयासलाई बल पुर्‍याउन सात दिनसम्म चल्ने यो सप्ताह आयोजना गरिएको महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्।

डंगोलका अनुसार जलवायु परिवर्तनको असर सबैले भोगिरहेकाले अब “गरौँला–हेरौँला” भनेर बस्ने समय छैन, काममै जानुपर्छ भन्ने सन्देश दिन ‘कार्य सप्ताह’ नाम राखिएको हो। यो अवधिमा महानगरले केही नयाँ कामको थालनी गर्ने उनले बताइन्।

दिनअनुसारको कार्यक्रम

उद्घाटनको दिन विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले जलवायु असर न्यूनीकरणका प्रयास र आफ्ना अनुभव सुनाउनेछन्। पहिलो दिन भोटेकोसी बाढीप्रभावित जिल्लाका पालिकाका प्रतिनिधिका कुरा सुनिने छ। सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौं अभियान’ को थालनी हुनेछ। महानगरभरिका विद्यालयमा कहाँ–कहाँ रिचार्ज गर्न सकिन्छ भन्ने अनुसन्धान सकिएको डंगोलले बताइन्।

दोस्रो दिन जलवायु वित्तबारे विज्ञसँग छलफल हुनेछ। अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषय उठ्नेछन्।

तेस्रो दिन नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनको असरमा केन्द्रित हुनेछ। परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण र पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन हुनेछ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनमा छलफल हुनेछ। स्वच्छ ऊर्जा, विद्युतीय सवारी, ऊर्जा भण्डारण प्रविधि र फोहोरमैला व्यवस्थापनमा समानान्तर सत्र चल्नेछन्। सोही दिन टेकुको बायो ग्यास प्लान्टको उद्घाटन गरिने छ।

पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ। ५० भन्दा बढी विद्यालयमा एकैपटक फोहोर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल र वृक्षरोपण योजनाजस्ता गतिविधि हुनेछन्। विद्यार्थीले प्रवर्द्धन गरेका नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि प्रदर्शनीमा राखिनेछन्।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनमा केन्द्रित हुनेछ। सातौँ र अन्तिम दिन जलवायु असर घटाउन नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको दायित्वबारे कार्यक्रम हुनेछ।

बालबालिकाका लागि भिडियो प्रतियोगिता

महानगरले ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता पनि आयोजना गरेको छ। महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी हुन सक्छन्। विजेतालाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। सान्त्वना स्थान हासिल गर्ने सात जनालाई जनही १० हजार रुपैयाँ दिइनेछ।

स्थान हासिल गर्ने १० जनालाई ‘काठमाडौं महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावनादूत’ को उपाधि दिइनेछ। वर्षभरि जलवायुका लागि बालबालिकाको सिर्जनात्मक भूमिका सक्रिय बनाउने महानगरको तयारी छ।