साँचो नेतृत्व भनेको सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवा हो: राजघाटमा प्रधानमन्त्री शाहको टिपोट

दियोपोस्ट संवाददाता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो भनेका छन्। भारतको राजकीय भ्रमणमा रहेका शाहले सोमबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि आगन्तुक पुस्तिकामा यस्तो लेखेका हुन्।

अंग्रेजीमा लेखिएको टिपोटमा उनले गान्धीको जीवनले सत्यमा कुनै पनि शक्तिले जित्न नसक्ने बल हुन्छ भन्ने प्रमाणित गरेको उल्लेख गरेका छन्। नेपालका जनता र सरकारको तर्फबाट आफूले गहिरो श्रद्धा अर्पण गरेको उनले लेखेका छन्।

शाहले आफू भगवान् बुद्धको जन्मभूमिबाट आएको स्मरण गर्दै गान्धीको विरासतमा त्यही अमर प्रकाश देखेको लेखेका छन्। करुणा नै सबैभन्दा ठूलो शक्ति हो र साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवामा हुन्छ भन्ने गहिरो सत्य त्यसमा देखेको उनको भनाइ छ।

नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले जोडिएको पनि उनले लेखेका छन्। इमान्दारिता, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो सम्बन्धलाई अघि बढाउने नेपालको प्रतिबद्धता उनले दोहोर्‍याएका छन्। गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सौहार्दपूर्ण विश्वतर्फको साझा मार्ग उज्यालो पार्दै रहून् भन्ने कामना पनि उनले गरेका छन्।

सम्बन्धित खबर

सिफारिस