
काठमाडौँ । रोयल इन्फिल्डले पहिलोपटक अन्तर्राष्ट्रिय संस्करणका रूपमा ‘हन्टरहुड काठमाडौँ’ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौँको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि महोत्सव सञ्चालन हुनेछ ।
भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको रोयल इन्फिल्डको सडक संस्कृति महोत्सव हन्टरहुड यसपटक नेपालमा आयोजना हुन लागेको हो । संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवमा भारतीय र्यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन् । भारतीय हिपहपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका डिभाइनसँगै नेपाली र्यापर साकारले पनि प्रस्तुति दिनेछन् । त्यस्तै, कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले सांगीतिक प्रस्तुति दिनेछन् । नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत विशेष स्थान दिइने आयोजकले जनाएको छ ।
रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिसँग जोडिएको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई संगीतप्रेमी युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई एकै ठाउँमा जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ । काठमाडौँको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले नेपाललाई आयोजनास्थलका रूपमा छनोट गरिएको हो ।
महोत्सवमा संगीतसँगै स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबललगायत गतिविधि सञ्चालन हुनेछन् । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहभागितामा स्केटपार्कका गतिविधि सञ्चालन हुनेछन् । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ, जसमा सहभागीले सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्नेछन् । इश्ना गोएक्ना र मस्रुन स्केटले स्केटपार्कका गतिविधिको नेतृत्व गर्नेछन् ।
एक्सट्रिम इनर्जी ड्रिंकको सहकार्यमा विभिन्न सडक खेल तथा मनोरञ्जनात्मक चुनौती पनि सञ्चालन गरिनेछ । फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायत खेलमा दर्शकले समेत सहभागी हुन पाउनेछन् ।
नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि महोत्सवमा समेटिएको छ । लाखे नाच, भैरव तथा काली नृत्य र ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले कार्यक्रमलाई थप विविधतापूर्ण बनाउनेछ । पाओलो नेपालले टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन र चार्म बनाउने कार्यशाला सञ्चालन गर्नेछ भने बाखन न्याने वाःले परम्परागत मुखौटा निर्माणसम्बन्धी कार्यशाला आयोजना गर्नेछ । सहभागीले फ्रेन्ज ट्याटु इनमार्फत ट्याटु तथा फेस पेन्टिङको अनुभव लिन सक्नेछन् ।
स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष फ्ली मार्केटसमेत रहनेछ । कापा, लाइबरलाई, ब्याज नेपाल, दोचा नेपाल, बाबल वेयर्स र ओटाकु जात्राका उत्पादनका साथै रोयल इन्फिल्डका पोसाक तथा एसेसरिज उपलब्ध हुनेछन् ।
खानाका पारखीका लागि स्क्युयर्स नेपाल, मिस्टर वाफल्स, स्वीट फिक्स, स्वर्ल आइसक्रिम, फेमस लाफिङ हाउस-टोखा, इटमःमो, टु सिस्टर्स, पाकशाला, फुल्की पोइन्ट र जेमिज बबल टीका स्टल रहनेछन् ।
आयोजकका अनुसार हन्टरहुड काठमाडौँ सांगीतिक कार्यक्रम मात्र नभई सहरको कला, संस्कृति, खेलकुद, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै थलोमा प्रस्तुत गर्ने महोत्सव हुनेछ । कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ ।